• ९ जेठ २०८१, बुधबार

प्रहरी महानिरीक्षक कुँवर अस्ट्रिया प्रस्थान

blog

काठमाडौँ, मङ्सिर १० गते । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ ।  इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेस्नल सेन्टर ब्युरो नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुनुभएको हो ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक बिदाइ गर्नुभयो ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ ।