• ३ वैशाख २०८२, बुधबार

कालिगण्डकी कोरिडोरको कागबेनी–कोरला खण्ड कालोपत्रे योजना अघि बढाइने

blog

माथिल्लो मुस्ताङस्थित सडक स्तरोन्नतिसहित ग्राभेल गरिएको सडक । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १० गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङको कागबेनीदेखि कोरला खण्डको एक सय ३ किलोमिटर सडक कालोपत्रे गर्न योजना अगाडि बढाइने भएको छ । यो खण्डको सडक स्तरोन्नति सहित ग्राभेल गर्ने काम सकिएको छ । कोरला नाका खुलेका कारण कागबेनीदेखि कोरला नाकासम्मको यात्रालाई सहज बनाउन कालोपत्रे योजना अघि बढाइने आयोजनाले जनाएको छ । 

पहिलो चरणमा ग्राभेल गर्ने काम सकिएकाले अब कालोपत्रेको योजना अगाडि बढाउन आवश्यक बजेटसहित अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्न लागिएको आयोजनाले जनाएको छ ।  जोमसोमदेखि कागबेनी सम्मको १३ किलोमिटर सडक कालोपत्रे योजना यसअघिकै ठेक्का लगाई निर्माणलाई अगाडि बढाइएको छ । 

चालु आर्थिक वर्षमा २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अगाडि बढाउन  आवश्यक बजेटसहित अर्थ मन्त्रालयको सहमतिका लागि प्रस्ताव पेस गर्ने तयारी गरिएको कालिगण्डकी कोरिडोर (बेनी–जोमसोम )सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘कागबेनीदेखि कोरलासम्मको सडक खण्डमा पहिलो चरणमा सडक स्तरोन्नतिसहित ग्राभेलको काम सकिएकाले अब कालोपत्रेका लागि योजना अगाडि बढाउने सोचसहित अर्थ मन्त्रालयको स्वीकृतिका लागि दुईचार दिन भित्रमा प्रस्ताव लैजाने योजना बनाएका छौँ ।’’ कोरला नाका सञ्चालनमा आइसकेकाले यस खण्डको सडकलाई कालोपत्रे गरेर यात्रालाई सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

यसैगरी म्याग्दी खण्ड अन्तर्गत गलेश्वरदेखि नारच्याङ पुलसम्मको सडक कालोपत्रे गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गरिएको पन्तले बताउनुभयो । उहाँका अनुसार नारच्याङ पुलदेखि काभ्रेभिर खण्डको ठेकेदारलाई सडक निर्माणको कामलाई गति दिन आवश्यक निर्देशन र ताकेता गरिएको छ । 

निर्माणाधीन मालढुङ्गा बेनी सडक योजनामा ठेकेदारले विभिन्न बहानामा ढिलासुस्ती गरी योजना अलपत्र पार्न थालेकाले आयोजनाले ठेक्का तोड्ने सोच बनाएको इन्जिनियर पन्तले बताउनुभयो । 

यसै गरी आयोजनाकै बेनी–गलेश्वर खण्डको दुई किलोमिटर एक सय मिटर सडक शनिवारदेखि प्राइम कोर्ड राखी कालोपत्रे गर्ने काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

बेनी –जोमसोम कोरला सडक स्तरोन्नतिसहित दुई लेनको कालोपत्रे र ग्राभेल गर्न विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्र वटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । कमजोर भूगोल, प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण म्याग्दी खण्डमा अपेक्षा गरेअनुसार सडक निर्माणले गति लिन सकेको छैन । 

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोड लागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९÷८० सम्म छ अर्बभन्दा बढी खर्च भइसकेको छ । हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुईवटा खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ ।