फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर १० गते । शनिवार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।
नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बू हुनुहुन्थ्यो । टोलीले नगद तीन लाख ६० हजार पाएको छ । नेपालकै श्रेणी महर्जन, महेश थारु र वसन्त थारुको टोली द्वितीय बनी दुई लाख ८८ हजार पुरस्कार पायो । नेपाली सेनाको श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर टोली तृतीय हुँदै दुई लाख १६ हजार पुरस्कार पाएको छ ।
लिन सिआक्जी, याङ चुन्हेङ र होऊ क्विङ रहेको चिनियाँ टोलीले चौथो बन्दै एक लाख ४४ हजार पाएको छ । ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्दै एक लाख ४४ हजार पुरस्कार पाउनुभयो ।
बहादुर सुनुवार द्वितीय, तीर्थ तामाङ तृतीय र करन रावल चौथो बन्नुभयो । उहाँहरूले क्रमशः एक लाख आठ हजार, ५४ हजार रु १८ हजार पाउनुभएको छ । छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरे पाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद २५ हजार जित्नुभयो ।
छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोका मगर द्वितीय र बादल कार्की तृतीय बन्नुभयो । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुनुभयो । दौडको टिम इभेन्टमा नेपालका १० टोली र चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । विद्यार्थी दौडमा ४ सय ३० भन्दा बढीको सहभागिता थियो ।
प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत पोखरा आएका छन् । चिनियाँ राजदूत छन् सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । दुई देशको आत्मीयता बढाउँदै पर्यटन प्रवर्द्धन र समृद्धिको यात्रामा सघाउन दौड कोसे ढुङ्गा साबित हुने प्रतियोगिता संयोजक विश्व शङ्कर पालिखे बताउनुहुन्छ ।