• १७ असार २०८१, सोमबार

गुम्बा पुनर्निर्माण सुस्त

blog

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर १० गते । सिन्धुपाल्चोकमा पुनर्निर्माणमा रहेका सात वटा गुम्बाको निर्माण कार्य सुस्त रहेको छ । २०७२ सालको भूकम्पले ध्वस्त भएका यस जिल्लाका सात वटा गुम्बाको पुनर्निर्माणको गति सुस्त हुँदा सम्पन्न हुनुपर्ने समय लम्बिएको छ ।

भारत सरकारको सहयोगमा यस जिल्लाका पाँच वटा गुम्बा निर्माणाधीन अवस्थामा रहे पनि प्राकृतिक र मानव सिर्जित समस्याका कारण निर्माण कार्य ढिला भएको हो । हेलम्बु गाउँपालिकामा मात्रै चार वटा गुम्बाको पुनर्निर्माण कार्य ढिलाइ हुँदा बजेटसमेत प्रभावित भएको छ ।

गुम्बा पुनर्निर्माणका लागि तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भवन निर्माण एकाइले २०२० अक्टोबर १४ मा ठेक्का निकालेको थियो । भारत सरकारले सबै गुम्बा पुनर्निर्माणका लागि १०/१० करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो तर नेपाल सरकारले चिरी गुम्बाका लागि छ करोड ४५ लाख, शेर्माथाङ गुम्बाका लागि पाँच करोड ५० लाख, तार्केघ्याङ गुम्बाका लागि सात करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

हेलम्बुमा निर्माण चरणमा रहेको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा, शेर्माथाङ गुम्बाको निर्माण कार्य ५० प्रतिशत पनि पूरा भएको छैन । चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, फिनिसिङका काम गर्न बाँकी रहेको र उक्त काम तीव्र गतिमा चलेको गुम्बा निर्माण समितिका सहसचिव छिरिङ लामाले जानकारी दिनुभयो । हेलम्बु क्षेत्रमा पुनर्निर्माण भइरहेका गुम्बाहरू पाँच सय वर्षसम्म पुराना रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइनमा पुनर्निर्माण भइरहेका छन् । निर्माणमा एक नम्बर अग्राखका काठ, चुनासुर्की र ढुङ्गामाटो प्रयोग भइरहेको छ । 

गुम्बा पुनर्निर्माणका लागि बजेट आए पनि हेलम्बु गाउँपालिका–१ मा रहेको मेलम्ची घ्याङ गुम्बाको पुनर्निर्माण सुरुसमेत भएको छैन । २०७८ असार १ गते मेलम्ची बाढी आएर नाकोतेबाट मेलम्चीघ्याङ जाने मोटरेबल पुल बगाएपछि सो गुम्बाको पुनर्निर्माणको काम हुन सकेको छैन । सडक नहुँदा निर्माण सामग्री लैजान नपाएका कारण काम सुरु नभएको अध्यक्ष शेर्पाले बताउनुभयो । अन्य तीन वटा गुम्बाको पुनर्निर्माण भने सुस्त भए पनि निरन्तर भइरहेको उहाँले थप्नुभयो ।

त्यस्तै भोटेकोशी गाउँपालिका–१, लिस्तीमा छ सय वर्ष पुरानो पाउ गुम्बा पुनर्निर्माणको काम सुरु भएको छैन । भारत सरकारले उक्त गुम्बा पुनर्निर्माणका लागि १९ करोड रुपियाँ दिएको छ । सो गुम्बा पुनर्निर्माणका लागि ठेक्का खुल्न बाँकी रहेको छ । यो रकमबाट छ करोडमा निर्माणाधीन इन्द्रावती गाउँपालिकाको नवलपुर घ्याङ गुम्बा र पाँच करोड ५० लाख रुपियाँमा मेलम्ची नगरपालिकाको सुलिकोट घ्याङ गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।