• १९ असार २०८१, बुधबार

चाडपर्वपछि सुनसान बने गाउँ

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर १० गते  । तनहुँका गाउँ बिस्तारै सुनसान हुँदै गएका छन्। दसैँतिहार मनाउन आएका विद्यार्थी, परदेशी सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन्। चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन्। 

उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान भएका हुन्। व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको बताउनुभयो। अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको उहाँको भनाइ छ। गुरुङले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएकाले  गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि गाउँघर सुनसान  भएको छ।” 

पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो। 

जिल्लाबाहिर फर्किनेहरूले गर्दा यातायातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो। दसैँतिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा बिस्तारै रौनक हराउन थालेको छ। व्यास नगरपालिका–१३, पोखरीभन्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईले स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवा नहुँदा सुनसान भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ।’’

यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्लाबाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दसैँतिहारको बेला मात्रै गाउँघर आउने गर्छन्। चाडपर्वको बेला सुनसान देखिएको सदरमुकाम दमौलीमा भने अहिले चहलपहल सुरु भएको छ।