हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर १० गते । खार्पुनाथ गाउँपालिका– ५ को खार्पु दोभानमा रहेको शिवालय क्षेत्रमा सोह्र फिट अग्लो शिवलिङ्ग निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको सहयोगमा शिवलिङ्ग निर्माण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले महाभारत कालीन समयसँग जोडिएको धार्मिक महत्वको शिवालय क्षेत्रमा अग्लो शिवलिङ्ग निर्माण गर्न लागिएको बताउनुभयो । निर्माण कार्य सुरु भएको जनाउँदै यसबाट शिवालय क्षेत्रको महत्व झनैबढ्ने उहाँले बताउनुभयो ।
शिवलिङ्गको निर्माणपछि पर्यटकीय क्षेत्रको प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । एक वर्षमा उक्त शिवलिङ्ग निर्माण गरिने छ । शिवालय क्षेत्रको अन्य विकास निर्माणका कार्य भइरहेका छन् । सयौँ वर्षअगाडि मानसरोवर कैलाश दर्शन गर्न जानुअगाडि कोटी होम सञ्चालन गरिएको बताइन्छ । यसका लागि बजेट पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारी गरिएको छ ।