• ९ असार २०८१, आइतबार

‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी

blog

फाइल तस्बिर

फुङ्लिङ (ताप्लेजुङ), मङ्सिर ९ गते । जैविक विविधतामा ताप्लेजुङ एक दुर्लभ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा वासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् । 

रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरबाट नै जनचेतनको विकास गर्ने उद्देश्यले विद्यालयमा रेडपाण्डाका गतिविधिका बारेका पढाइ हुँदै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपाण्डाको बास स्थान जोडिएका बस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो । 

विद्यार्थीलाई पढाइसँगै रेडपाण्डाको चरन क्षेत्र तथा बास स्थानको प्रत्यक्ष अध्ययन गर्नुका साथै अवलोकन गर्दै आएका छन् । गत बिहीबार फुङ्लिङ नगपालिका-१० अवस्थित माध्यमिक विद्यालयका ३२ र शुक्रबार फक्ताङलुङ गाउँपालिका-३ सिंवा माध्यमिक विद्यालयका २४ विद्यार्थीले रेडपाण्डाका गतिविधिका बारेमा अध्ययन गर्नुका साथै वासस्थानको प्रत्यक्ष अवलोकन गरेका छन् ।

रेडपाण्डा आधारित आउटडोर शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई रेडपाण्डाको वासस्थानको अध्ययन तथा अवलोकन गइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । विद्यार्थीले फुङ्लिङ नगरपालिका-९ देउरालीमा अवस्थित हिमालय हाब्रे सेन्टरको अध्ययन तथा अवलोकनसमेत गरेका छन् । हाब्रे सेन्टरको बनावट, आगामी योजनाका बारेमा मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभएको थियो । 

ताप्लेजुङको सदरमुकामदेखि नजिकै रहेको देउराली भित्री सामुदायिक वन क्षेत्रमा विद्यार्थीले रेडपाण्डाको अध्ययन तथा अवलोकन गरेका मञ्चका प्राविधिक सुमन राईले बताउनुभयो । उहाँका अनुसार देउराली भित्री सामुदायिक वन विशेष गरी रेडपाण्डाको वासस्थान क्षेत्रमा पर्दछ । अवलोकनका क्रममा विद्यार्थीले क्यामेरामार्फत निगरानी गर्न, वनमा रहेका रुखको मापन गर्न, जिपिएस-ग्लोबल पोजिसन सिस्टममार्फत स्थान पत्ता लगाउनेलगायत प्रक्रियाका बारेमा जानकारी गइएको रेडपाण्डा नेटवर्कका संयोजक वाङ्चु भोटियाले बताउनुभयो ।

कक्षाकोठा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको माध्यमिक विद्यालयका शिक्षिका टीका निरौलाले बताउनुभयो । रासस