• २० असार २०८१, बिहिबार

एमेच्योर सद्भावलाई सेन्ट्रल ओपन गल्फ उपाधि

blog

उपाधिसहित सद्भाव आचार्य ।

काठमाडौँ, मङ्सिर ७ गते । युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्नुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चार दिने प्रतियोगितामा सद्भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई सात स्ट्रोकले हराउँदै उपाधि जित्नुभएको हो । यो उहाँको गल्फ करियरको दोस्रो उपाधि हो । यसअघि उहाँले गत सिजन सूर्य नेपाल च्यालेन्ज जित्नुभएको थियो । 

अन्तिम दिन बिहीबार सद्भावले तीन अन्डर ६९ खेल्नुभयो । उहाँले समग्रमा १७ अन्डर दुई सय ७१ स्कोरमा ७२ होलको प्रतियोगिता सक्नुभयो । सहभागी ३३ प्रोफेसनल गल्फरलाई पछि पार्नुभएका सद्भावले प्रो र एमेच्योर दुवै ट्रफी जित्नुभयो । प्रोफेसनलतर्फ कूल १० अन्डर दुई सय ७८ स्कोर खेल्नुभएका दिनेश प्रजापति च्याम्पियन बन्नुभयो ।

अन्तिम दिन इभनपार ७२ खेल्नुभएका उहाँले एक लाख ४५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल सात अन्डर दुई सय ८१ खेल्नुभएका भुवन नगरकोटी समग्रमा तेस्रो बन्दै ९४ हजार रुपियाँ पाउनुभयो । सम्रमा चौथो हुनुभएका सन्जय लामाले कूल इभन पार दुई सय ८८ खेल्दै ७० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

कूल आठ लाख ४० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा प्रोफेसनलतर्फ शीर्ष २१ रहने गल्फरले पनि आकर्षक नगद पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गर्नुभयो ।