• ११ मंसिर २०८१, मङ्गलबार

केपी ओली कप : बागमतीको विजयी सुरुवात

blog

बलिङ गरेर प्रतियोगिताको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी 

पोखरा, मङ्सिर ७ गते । बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८४ रन बनाएको थियो । बागमतीका लागि रित गौतमले सर्वाधिक ७४ रन बनाउनुभयो । बलिङमा मदन भण्डारीका बिप्रसन केसीले तीन विकेट लिनुभयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १४.२ ओभरमा सबै विकेटको क्षतिमा ७५ रनमा समेटिएको थियो ।

मदन भण्डारीका लागि अमर मिश्र र विजय प्रजापतिले १३र१३ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मदन भण्डारीलाई सस्तैमा समेट्न बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिनुभयो ।

सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई विकेट लिनुभयो । मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । 

पोखरा रङ्गशालामा हुने प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, वेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।