• २७ वैशाख २०८२, शनिबार

बिजुलीले तीनपाटन झिलिमिली

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर ७ गते । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएर बिजुलीले झलमल्ल भएको छ ।

पछिल्लो समय वडा नं. ७ को तोस्राम खोला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि गाउँपालिकाका ११ वटै वडामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पु¥याउने लक्ष्यसहित धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैङ्कको सहयोगमा यो गाउँपालिकामा विद्युत् लाइन विस्तारको काम भइरहेको छ । “सबै वडामा बिजुली बत्ती बले पनि केही बस्तीमा बाल्न बाँकी छ । त्यसका लागि धमाधम काम भइरहेको छ,” गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो । मुलुक सङ्घीयतामा गएपछि साबिक आठ वटा गाविसलाई मिलाएर तीनपाटन गाउँपालिकामा ११ वटा वडा बनाइएको हो । टुकी बत्ती, सौर्य बत्ती, लालटिनको सहाराले दैनिक जीवन बिताउँदै आएका तीनपाटनवासी गाउँ बिजुलीले उज्यालो हुँदा उत्साहित बनेका छन् । 

सिन्धुली जिल्लाको कुल ५७ हजार ५८१ घरधुरीमध्ये हालसम्म करिब ५५ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडिएको प्राधिकरणको सिन्धुली वितरण शाखाले जनाएको छ । उक्त शाखाका प्राविधिक लालबहादुर लामाले पूरै सिन्धुली जिल्लालाई दुई वर्षभित्र उज्यालो बनाउने लक्ष्य राखी शाखाले विद्युत् विस्तारको काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् विस्तार गर्न बाँकी गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिका–१२, १३ र १४ मा केन्द्रीय योजना अन्तर्गत छुट्टै ६५ करोड रुपियाँको दुईवर्षे आयोजनाको काम भइरहेको छ ।” बाँकी भागमा विद्युत् विस्तार गर्न शाखालाई यो वर्ष २८ करोड पाँच लाख रुपियाँ बजेट प्राप्त भई टेन्डर भइसकेको शाखाका प्राविधिक लामाले जानकारी दिनुभयो ।