• १० मंसिर २०८१, सोमबार

विश्व टेलिभिजन दिवस

‘योजना बिना टेलिभिजनमा लगानी गर्दा वर्षदिनमै बन्द हुने अवस्था आयो’

blog

काठमाडौं, मङ्सिर ५ गते । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । तर विश्वमा सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा स्थापित छ । टेलिभिजन सुरुवात सन् १९३६ नोभेम्बर २ देखि बिबिसीले नियमित प्रसारण गरेको पाइन्छ ।

सन् १९५४ देखि रङ्गिन टेलिभिजनको विकास भएको थियो । विश्वका धेरै देशमा ब्ल्याक इन ह्वाइट टेलिभिजन सुरुवात भयो । तर नेपालमा ब्ल्याक इन ह्वाइट नभएर सिधै रङ्गिन टेलिभिजनको सुरुवात भयो । नेपालमा सन् १९७० ताका टेलिभिजन सेटहरू भित्रिएको पाइन्छ । नेपालमा नयाँ प्रविधि भएकाले दर्शक आकर्षण गर्ने कार्यक्रमहरू नभए पनि दर्शकहरू माझ टेलिभिजन लोकप्रिय थिए तर पछिल्लो समय टेलिभिजनको प्रभावकारिता नहुँदा दर्शकहरू माझ लोकप्रियता घट्दै गएको पाइन्छ ।

नेपाली दर्शकहरू पछिल्लो समय लोकप्रिय कार्यक्रम र भारतीय मेगा रिसेलहरु हेर्न थालेका छन् । विश्व टेलिभिजन दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताउनु भयो ।

सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गर्नुभयो । उहाँले सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाउँदा सबै भन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रीमा टेलिभिजनहरू केन्द्रित भएको बताउनु भयो । उहाँले विषयवस्तु गम्भीरतापूर्वक हेरेर बनाउनेभन्दा पनि हलुका र सस्ता विषयवस्तुहरू बजाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो ।

सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजनहरूले कस्तो विषय बनाउन भन्ने मार्गनिर्देशन बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले अहिलेसम्म निजी र सरकारी टेलिभिजनले बनाउने विषयवस्तुका लागि स्पष्ट मार्गनिर्देशन नहुँदा नेपाल टेलिभिजन नै अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्नुभयो ।

यसैगरी, अर्यालले मिडिया लगानी गर्नु भनेको अरूमा लगानी गर्नुभन्दा फरक हो भन्ने कुरा मिडिया उद्यमीहरूले नबुझ्दा मिडिया हाउसमा वर्तमान विभिन्न समस्या देखिएको धारणा औँल्याउनुभयो ।

उहाँले वि.सं. २०४६ पछि नेपाली मिडियामा ठुलो लगानी आउँदा मिडियाहरू संस्थागत स्वरूपमा लिए भनिए पनि अहिले त्यही संस्थागत स्वरूपमा मिडियाहरूमा श्रमजीवीका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताउनुभयो । उहाँले मिडिया उद्यमीहरूले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताउनुभयो ।

लगानीकर्ता मिडियाप्रति जानकार नहुँदा समस्या : विज्ञ दाहाल

अहिले पनि टेलिभिजनको महत्त्व कम नभएको बताउनुहुन्छ भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहाल । उहाँले नेपाली टेलिभिजनमा प्रसारण हुने विषयवस्तुको स्तर खस्केको बताउनुभयो । विषयवस्तु राम्रो भएसम्म टेलिभिजनको महत्त्व नघट्ने विज्ञ दाहाल बताउनुहुन्छ ।

उहाँले प्रसारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्त्व छैन भन्न नहुने बताउनुभयो । उहाँले मिडियामा लगानी गर्न आउने मानिसहरू मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताउनुभयो ।

विज्ञ दाहालले टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उहाँको भनाइ छ । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्त्व खस्किँदै गएको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका दाहालले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको बताउनुभयो । उहाँले नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमानदारी पस्किनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको बताउनुभयो । उहाँले राष्ट्रियतालाई राजनीतिक रूपमा मात्रै बुझ्ने गरेकाले पनि दर्शक अर्कोतर्फ गएको जानकारी दिनुभयो ।

टेलिभिजनलाई सामाजिक सञ्जालले दबाबमा राखेका छन्ः विज्ञ हुमागाईं

विश्व टेलिभिजनको अवसरमा आमसञ्चार तथा प्रसारण विज्ञ लक्ष्मण हुमागाईँ नेपालको टेलिभिजन उद्योग कतै कमजोर बनेको हो कि भन्ने महसुस हुन थालेको बताउनुहुन्छ । उहाँले टेलिभिजनले विषयवस्तुहरू राम्रोसँग उत्पादन गर्न छाडेको हो कि भन्ने अवस्था देखिएको बताउनुभयो ।

टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको, टेलिभिजनको बजार सकिँदैछ वा टेलिभिजनलाई सामाजिक सञ्जालले निकै दबाबमा राखेको हो कि भन्ने आशङ्का उब्जिएको विज्ञ हुमागाईँको भनाइ छ । सामाजिक सञ्जालको दबाब विश्वभर नै परेको बताउँदै आमसञ्चार तथा प्रसारण विज्ञ हुमागाईँले सामाजिक सञ्जालको प्रभाव विश्वभरका सञ्चारमाध्यममा परे पनि सामाजिक सञ्जाल मिडिया नभएको बताउनुभयो ।

सामाजिक सञ्जाल आम सञ्चारका माध्यम नभएर व्यक्तिगत माध्यम भएको उहाँले बताउनुभयो । विज्ञ हुमागाईँले सामाजिक सञ्जाल व्यक्तिगत सूचना प्रवाह र नेटवर्क प्रवाह गर्नका लागि काम गर्ने माध्यम मात्रै भएको बताउनुभयो । सामाजिक सञ्जालका कारणले गर्दा विज्ञापन बजारमा केही असर प्रभाव परेको तर टेलिभिजनको विज्ञापन आजको दिनमा पनि विश्वमा पहिलो नम्बरमा पर्ने बताउनुभयो ।

विज्ञ हुमागाईँले टेलिभिजनको महत्त्व अहिले नघटेको बरु बढ्दै गइरहेको दाबी गर्नुभयो । उहाँले टेलिभिजनकै विषयवस्तु प्रयोग गर्ने परिपाटी सामाजिक सञ्जालमा भइरहेकाले पनि टेलिभिजनको महत्त्व झनै बढिरहेको धारणा व्यक्त गर्नुभयो । नेपालमा टेलिभिजन क्षेत्र कमजोर भएको हो कि भन्ने लागे पनि अहिले पनि विश्वस्तरमा पहिलो नम्बरमा विज्ञापन जाने माध्यम टेलिभिजन भएको बताउनुभयो ।

नेपालमा अहिले रहेका सञ्चारमाध्यमको सङ्ख्यालाई बचाएर लैजानसक्ने विज्ञापन बजारले धान्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आम सञ्चारमाध्यमहरू आफैँ चल्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । कतिपय सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरिदिँदा सञ्चारमाध्यमलाई विज्ञापन दिन डराउने अवस्थामा विज्ञापन संस्थाहरू पुगेको उल्लेख गर्नुभयो ।