वासुदेव शर्मा
जाजरकोट, मङ्सिर ५ गते । कात्तिक १७ गते मध्यरात गएको भूकम्पबाट घरवासविहीन सर्वसाधारणको अस्थायी टहरा निर्माणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलेको नेतृत्वमा टोली भूकम्प प्रभावित क्षेत्र नलगाड प्रस्थान गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सोमबार सदरमुकाम पुगेको टोली नलगाड नगरपालिका प्रस्थान गरेको हो ।
विनाशकारी भूकम्पले धनजनको ठुलो क्षति गरेपछि न्यानो नपाएका जनतालाई अस्थायी बास निर्माणका लागि इन्जिनियरसहित ५० जनाको टोली नलगाड नगरपालिका गएको छ । नलगाड नगरपालिका ५ का विभिन्न बस्तीमा कम्तीमा एक सय अस्थायी टहरा निर्माणका लागि स्थानीयवासीको सहयोगमा एक सय ५० जना टोली परिचालित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले बताउनुभयो ।
घर भत्किएर त्रिपालको बसाइले अधिकांश सर्वसाधारण बिरामी पर्न थालेपछि चिसाे र शीतबाट बचाउन अस्थायी टहरा निर्माण गरी न्यानो दिने केन्द्रीय सदस्य पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य मुक्ति आचार्यले स्थानीय युवा र केन्द्रबाट सहयोग गर्न आएको इन्जिनियरसहित आएको टोलीले मङ्गलबारदेखि अस्थायी टहरा निर्माणमा लाग्ने बताउनुभयो । नेपाली कांग्रेका नेता सुशील भट्टका अनुसार केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोलीले नलगाड नगरपालिका ५ को भूकम्पले घरबासविहीन सर्वसाधारणको सुरक्षित आवासका लागी अस्थायी टहरा निर्माण गर्ने बताउनुभयो । स्थानीयवासीसहित एक सय ५० जना टोलीले अस्थायी टहरा निर्माण गर्ने बताउनुभयो ।