• १२ मंसिर २०८१, बुधबार

उर्लाबारी आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु

blog

हरि कोइराला
उर्लाबारी, मङ्सिर ५ गते ।
मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।

स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति १०ः३० बजे अचानक आगलागी सुरु भएको थियो । आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए । घाइतेहरूको काठमाडौस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको थियो । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा आज मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । उपचाररतमध्ये गम्भीर अवस्थाका आठ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार अनुसार आगलागीबाट तीन करोड ४१ लाख रुपियाँभन्दा धेरैको क्षति भएको छ । आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन ।  प्रहरी निरीक्षक दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यसैबीच आगलागीमा घाइते भई उपचार गराइरहेका बिरामीका आफन्तलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भेटघाट गर्नुभएको छ । उपचारमा कुनै कमी हुन नदिने मन्त्री लिम्बूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।