काठमाडौं, मङ्सिर ३ गते । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । नुर्बुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षकमा लालबहादुर पौडेल हुनुहुन्छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले सोमबारै एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । बिदाइ अवसरमा बक्सिङ महासङ्घका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
सोही अवसरमा श्रेष्ठले गत असोजमा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पार्न सफल रविन थापालाई प्रोत्साहन स्वरूप पूर्व घोषित १० हजार रुपियाँ पुरस्कार पनि प्रदान गर्नुभयो । एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्नुभएको थियो ।