• १९ पुस २०८१, शुक्रबार

सूर्य नेपाल सेन्ट्रल ओपन : एमेच्योर टासीको अग्रता

blog

पहिलो दिन सट प्रहार गर्दै तासी छिरिङ ।

काठमाडौँ, मङ्सिर ४ गते । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमबार एमेच्योर गल्फर टासी छिरिङले अग्रता लिनुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा तासीले सात अन्डर ६५ को सानदार नतिजाका साथ शीर्षस्थान ओगट्नुभएको हो । उहाँले अर्का एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्नुभएको छ । 

प्रतियोगितामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पार्नुभयो । सद्भाव ६ अन्डर ६६ सहित दोस्रो स्थानमा हुनुहुन्छ । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ तीन अन्डर ६९ स्कोरसहित तेस्रो स्थानमा हुनुहुन्छ । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा चार स्ट्रोकले पछि हुनुहुन्छ ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहेको छ। दोस्रो दिनको ३६ होलपछि शीर्ष २१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले थप ३६ होलको फाइनलका लागि कट बनाउनेछन् । कूल आठ लाख ४० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिताको प्रोफेसनल गल्फरले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् ।