• १८ असार २०८१, मङ्गलबार

फिफा विश्वकप छनोट : रङ्गशालामा यमनलाई स्तब्ध बनाउने योजना

blog

मङ्गलबारको खेलबारे आफ्नो धारणा राख्दै नेपाली टोलीका प्रशिक्षक र कप्तान । तस्बिर : गोरखापत्र

काठमाडौँ, मङ्सिर ४ गते । फिफा विश्वकप २०२६ एएफसी छनोटको समूह  ‘एच’ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले मङ्गलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा साँझ ७:०० बजे सुरु हुने खेलमा नेपालले तुलनात्मक रूपमा बलियो टोली यमनलाई हराउने योजना बनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अघिल्ला खेलको नतिजालाई बिर्सिएर यमनलाई हराउने बताउनुभयो । 

समूह चरणको पहिलो खेलमा नेपाल अघिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)सँग उसैको मैदानमा ४-० गोलले पराजित भएको थियो । नेपालले समूहमा अङ्कको खाता खोल्न सकेको छैन । यता यमनपनि पहिलो खेलमा बहराइनसँग २-० पराजित भएको थियो । यमनले पनि समूहमा अङ्क जोड्न सकेको छैन । 

‘‘हामी यमनसँग स्पष्ट जित निकाल्न चाहन्छौँ, घरेलु समर्थकलाई आशा दिलाउनका लागि समै खेलाडीले राम्रो खेल्ने आशा छ,’’ सोमबार आयोजित पत्रकार सम्मेलनमा एनेसले भन्नुभयो । यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङदले अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि नेपाललाई यमनसँगको खेल महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यमनलाई हराउन आफूहरूले राम्रो तयारी गरेको पनि बताउनुभयो । 

नेपालले यसअघि सन् २०१९ को एसिया कप छनोट खेलमा यमनसँग घरेलु प्रतिस्पर्धा गरेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । तर कतारको दोहामा खेलिएको दोस्रो लेगमा नेपाल यमनसँग २-१ गोलले पराजित भएको थियो ।

यसैगरी यमनका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई सहज रूपमा नलिने बताउनुभयो । ‘‘नेपालले युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलनात्मक रूपमा नेपाल कमजोर छैन । त्यसैले नेपालसँग खेल्न सजिलो छैन । नेपाली टोली एकदमै राम्रो छ । नेपालले लाओसलाई हराएर दोस्रो चरण पुगेको खेल हामीले हेरेका छौँ । युएईसँगको खेल पनि नेपालले राम्रो खेल्यो । फरक यत्ति हो की युएई पाएको अवसरलाई गोल गर्न सक्यो, नेपालले सकेन,’’ सुकोपले  भन्नुभयो । 

यमनको टोली आइतबार काठमाडौँ आइपुगेको हो । समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । एन्फाले छनोट खेलको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । एन्फाले दर्शकका लागि साधारण प्यारापिटतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपियाँ टिकट मूल्य तोकेको छ ।