• १५ कात्तिक २०८१, बिहिबार

फिस्टुलाको उपचार निःशुल्क

blog

फिस्टुला रोगसम्वन्धी जानकारीमुलक अभिमुखीकरणमा सहभागी । तस्वीरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर ४ गते । कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो । 

आज कालीकोटको सदरमुकाम मान्ममा रहेको होटल चन्द्रसूर्यमा आयोजित समन्वयात्मक तथा फिस्टुलासम्वन्धी अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गरिएको छ । 

आइएनएफ नेपालको फिस्टुला कार्यक्रम हेर्ने कान्ती शर्माले कर्णालीका महिलालाई लक्षित गरी प्रदेश अस्पताल र आइएनएफ नेपालले सुर्खेतमा निःशुल्क उपचार गर्दैआएको बताउनुभयो । बिरामीको उपचारसँगै कुरुवालाई बस्न खान बाटो खर्च सबै उपलब्ध गरिरहेकाले रोग पालेर घरमै गुपचुपमा नबस्न आग्रह गर्नुभएको छ । प्रसव फिस्टुला रोग लामो र कठिन सुत्केरी व्यथाका कारणले पिसाब थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नेगर्छ ।  

सुरुमा नेपाल सरकारले नेपालमा फिस्टुलाका बिरामी नभएको दाबी गरिरहेका बेला काठमाडौँमा विदेशी चिकित्सकले बिरामी भेटाएर उपचार गरेको स्वास्थ्य विभागको भेलामा जानकारी गराइएको छ । 

नेपाल सरकारले पनि यस रोगका विषयमा जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । यो रोग भएका महिलाले दिसा-पिसाब केही पनि रोक्न सक्दैनन् । निरन्तर चुहिने भएकाले यो रोगबाट पीडित महिला वा पुरुषलाई समाजले पनि विभेद गर्नेगरेको छ । 

सानो उमेरमा छोराछोरीबिच गरिने विभेदले छोरीलाई पोषणयुक्त खानेकुरा कम दिनु, जबरजस्ती करणीमा पर्नु, सानै उमेरमा विवाह गर्दा बच्चा जन्माउँदा पाठेघरको मुख च्यात्तिनुजस्ता कारणले प्रसव फिस्टुला हुनेगरेको अध्ययनले देखाएका छ ।