• ४ जेठ २०८१, शुक्रबार

विदेश जाने युवा बढ्दै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर ४ गते । गत आर्थिक वर्षमा सिन्धुपाल्चोकका १८ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार वैदेशिक रोजगारीका लागि विदेश गएका आठ हजार महिलामध्ये ९० प्रतिशत जनजाति आदिवासी समुदायका छन् । 

घरायसी कामदारका रूपमा महिला इजरायल, कुवेत, अरब, दुबई, कतार, मलेसिया, जोर्डनलगायतका देशमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा गएका महिलामध्ये केहीले मात्रै राम्रो काम पाउने गरेको सो कार्यक्रमका मनोसामाजिक परामर्शदाता निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत सिप, ज्ञान, दक्षताको कमीका कारण महिला विदेशी भूमिमा अलपत्र परेका हुन् । विदेशमा पुगेर समस्या भोग्नु परेपछि उजुरी आउने क्रम बढेको छ । कतिपय मानसिक समस्यामा परेका छन् ।” दलालका फन्दामा परेर बिदेसिएका महिला नै अलपत्र पर्ने गरेको श्रेष्ठले बताउनुभयो । अलपत्र पर्ने, बन्धक बन्ने महिलाका आफन्तले उजुरी गर्ने क्रम बढेको छ । 

बाह्रबिसे नगरपालिकाकी ४४ वर्षीय सेरसाङ लामा र ४० वर्षीय याङजेन शेर्पा दक्षिण अमेरिकामा बन्धक बनेको आप्रवासन संस्थाले जनाएको छ । विगत पाँच वर्षदेखि उनीहरूलाई क्यारेबियन टापु ट्रिनिडाड एन्ड टोबागोमा बन्धक बनाइराखिएको उक्त संस्थाले जनाएको हो । लामा र शेर्पा बन्धक रहेको सञ्चार माध्यममा समाचार साउनमा प्रकाशित भएका थिए तर प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अहिलेसम्म उनीहरूको उद्धार गर्न सकेको छैन् । उनीहरू मकाउमा काम गर्न गएका थिए । 

रोजगारीका लागि विदेश गएकाको अवस्था राम्रो नभए पनि युवामा विदेशमोह घटेको छैन् । कतिपय बन्धक छन् भने कोही कोही दुई चार महिनाभित्र नै नेपाल आउने गरेको आप्रवसान संस्थाले जनाएको छ । अहिले पनि सिन्धुपाल्चोकमा विदेश जाने महिला, पुरुषको सङ्ख्यामा कमी भएको छैन । नागरिकता बनाउँदासाथ राहदानी बनाएर रोजगारीमा जाने युवकयुवतीको सङ्ख्या बढिरहेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या झनै बढेको छ ।