• २७ वैशाख २०८२, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस सक्रिय बन्नुपर्छ : नेता महर

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर । फाइल तस्बिर

काठमाडौं, मङ्सिर ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

विश्व शौचालय दिवसको अवसरमा सामाजिक सञ्जालमा धारणा राख्दै नेता महरले अहिलेसम्म सरकारले अपेक्षित रूपमा काम गर्न नसक्दा आमनागरिक कठ्याङ्ग्रिएर मर्नुपर्ने अवस्था आइरहेको टिप्पणी गर्दै यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने बताउनुभयो। 

सरकार सबै जनताको अभिभावक भएको बताउँदै उनले जाजरकोट, रुकुम पश्चिम, बझाङलगायतका क्षेत्रमा गएको भूकम्पका कारण जनताले ठुलो सास्ती खेप्नुपरिरहेकोमा त्यहाँ सरकारको उपस्थिति न्यून देखिएको टिप्पणी गर्नुभयो । ‘सात जनाले चिसोका कारण ज्यान गुमाएका समाचार आइरहेका छन्। यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्थ्यो। त्यो हुन सकेन। कांग्रेस पनि मूकदर्शक बन्नुहुँदैन’, उनले भने।

भूकम्प पीडितले चिसोमा कठ्याङ्ग्रिएर रात गुजार्नुपरिरहेको अवस्थामा जनताका टहरा निर्माणमा कांग्रेसले केन्द्रीय रणनीति बनाएर अगाडि बढ्नुपर्ने महरले धारणा राखेका छन्। 

‘कांग्रेसले केन्द्रीय रणनीति बनाएर भूकम्प प्रभावित क्षेत्रमा पुनर्स्थापनामा लाग्नुपर्छ। त्यहाँ लामो समयसम्म बसेर श्रमदान गर्नुपर्छ। अब कांग्रेसले जाग्नुपर्ने बेला भएको छ,’ उहाँले भन्नुभयो । 

यसका साथै त्यहाँका जनता भूकम्पका कारण शौचालयविहीन हुँदा सरसफाइको समस्यासमेत खेप्न बाध्य रहेको उनले बताएका छन्। ‘‘विश्व शौचालय दिवस मनाइरहेका बेला भूकम्प प्रभावित क्षेत्रमा भने शौचालयको अवस्था नाजुक छ। एकातिर प्राय शौचालय भत्किएका छन् भने अर्कोतर्फ त्रिपाल र अस्थायी टहरामा शौचालयको उचित प्रबन्ध नभएर वातावरण दूषित बन्दै गएकोले भयावह अवस्था आउन सक्ने जोखिम छ। यसतर्फ सरकार सचेत हुनुपर्छ’’, उहाँले भन्नुभयो । 

असोज १६ गते बझाङमा गएको भूकम्प र त्यसपछिका पराकम्पले चर्किएका संरचना तथा कात्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो सङ्ख्यामा मानिस प्रभावित भएकाले उनीहरूको उचित प्रबन्ध नै अहिलेको प्रमुख आवश्यकता भएको महरको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘‘जाजरकोट र रुकुम पश्चिममा १५४ जनाले ज्यान गुमाए। ३६२ जना घाइते भए। कर्णालीका सात जिल्लामा क्षति पुगेको सरकारी तथ्याङ्क देखाएको छ। करिब ४३ हजार २१४ घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ। त्यस्तै ३५५ वटा विद्यालयमा क्षति पुगेको छ। सरकारी तथा अन्य कार्यालयका भवनको अवस्था पनि नाजुक छ। बुझ्नुपर्ने कुरा के छ भने भवनसँगै शौचालय पनि भत्किएका छन्। यसको व्यवस्थापन गर्न नसक्दा रोग फैलिने जोखिम छ। यो सुरुमै ध्यान दिनुपर्ने विषय हो ।’’

विश्वव्यापी सरसफाइ सङ्कट समाधान गर्ने कार्यलाई प्रेरित गर्न २०१२ देखि  १९ नोभेम्बरमा अन्तर्राष्ट्रिय विश्व शौचालय दिवस मनाइँदै आएको छ।