• १२ साउन २०८१, शनिबार

हामीले सुरु गरेको सुशासनको अभियान इतिहासकै पहिलो : प्रधानमन्त्री प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

रुकुमपूर्व, मङ्सिर ३ गते।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ। रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, “हिजो हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौँ। जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन। दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन। तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन।”  सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो। प्रधानमन्त्रीले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ। तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदै गर्दा भिन्न रूपले देशमा समाजवादको आधार निर्माण गर्नुपर्ने हुन्छ र बाँकी रहेका विभेदको अन्त्य गर्नुपर्ने हुन्छ। यही सोचाईका आधारमा सामाजिक न्याय, सुशासन र समृद्धि एउटा नारा बनाएको छु। अरुभन्दा फरक ढङ्गले काम गर्ने र पहिले पहिलेभन्दा भिन्न ढङ्गले समाजवादको आधार निर्माण गर्ने काम गर्ने सङ्कल्प लिएको थिएँ।  त्यो सङ्कल्प लिएपछि विभिन्न क्षेत्रमा सुधारका र समाजवादको आधार निर्माण गर्ने काम सुरु भएका छन्।” 

उहाँले आफू प्रधानमन्त्री भएको बेला रुकुम पूर्वी क्षेत्रको विकास कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल भ्रष्टाचारका कारण बदनाम भएको भन्दै उहाँले वर्तमान सरकारले सुशासन अभियान अन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणको फाइल ओलेर मुद्दाको प्रक्रिया अगाडि बढाउनु पनि त्यसै अन्तर्गत भएको बताउनुभयो।