• १३ मंसिर २०८१, बिहिबार

आठबीसकोटमा भूकम्पपीडितका लागि अस्थायी आवास

blog

भूकम्पपीडित । तस्बिर : कविता थापा

त्रिवेणी (रुकुम पश्चिम), मङ्सिर ३ गते । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ । आठबीसकोट–१४स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरूलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण थालिएको हो । पहिलो चरणमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको  इन्जिनियर मानबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ । दुई वटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन् । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने इन्जिनियर शाहीले जानकारी दिनुभयो । भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता  प्रयोग गरेर अस्थायी आवास निर्माण काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

अस्थायी आवास  निर्माण गर्दा काठलगायत आठवटा जस्तापाता प्रयोग गरेर पाँच जना परिवार बस्न मिल्ने दुई कोठा बराबरको अस्थायी आवास निर्माण गरिएको छ । नमुना घरका रूपमा निर्माण गरिएको अस्थायी आवास निर्माण गर्न  प्रत्येक अस्थायी आवासलाई रु. ३५ हजारका दरले खर्च लाग्ने उहाँले जानकारी दिनुभयो । आवास निर्माण गर्दा स्थानीयवासीको पनि सहयोग रहेको उहाँको भनाइ छ ।

दशवटा आवास निर्माण गर्दा लाग्ने सबै खर्च पाँच जनाको व्यक्तिगत रूपमा भूकम्पपीडितलाई सहयोगबापत खर्च गरिएको शाहीले जानकारी दिनुभयो । स्थानीय कच्चा पदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिममुक्त र बलियो रहेको उहाँको भनाइ छ । आठबीसकोट १४ का  मृतक १३ घरपरिवारमध्ये एक घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दको नेतृत्वको समूहले अस्थायी आवास निर्माण गरिदिएको हो  भने दुई घरपरिवारलाई अन्य सहयोगी सङ्घ संस्थाले अस्थायी आवास निर्माण गरिदिएका हुन् ।

आठबीसकोट  १४ का १३ मृतक घरपरिवारलाई अस्थायी आवास बन्ने निश्चित भए पनि अन्य क्षति भएका घरमा अस्थायी आवास कहिले निर्माण हुन्छ भने टुङ्गो छैन । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भने सम्बन्धित स्थानीय तहलाई भूकम्पले घरमा पारेको क्षतिको विवरण कार्यालयले पठाएको ढाँचामा पठाउन भनेको छ ।

स्थानीय तहबाट क्षतिको विवरण कार्यालयमा आएपछि विपद् व्यवस्थापन समितिको बैठक बस्ने र  पीडितका अस्थायी आवास निर्माणमा जुट्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुबालले जानकारी दिनुभयो । स्थानीय तहबाट घरमा भएको पूर्ण विवरण आउन केही समय लाग्ने भएकाले अस्थायी आवास निर्माण गर्न समय लाग्ने उहाँले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्र पहिलो चरणको राहत वितरणको काम भने सकिएको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो  भने भौतिक संरचनामा क्षति पुर्‍याएको छ । अहिले अधिकांश भूकम्पपीडित त्रिपालका सहारामा  चिसो रात काटिरहेका छन् । रासस