• १८ असार २०८१, मङ्गलबार

युरो कप छनोट : जिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल

blog

बल अगाडि बढाउँदै फ्रान्सका कप्तान केलियन एम्बाप्पे । तस्बिर : एपी/रासस

काठमाडौं, मङ्सिर ३ गते । फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।

फ्रान्सको जितमा कप्तान केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्नुभयो । पूर्व विश्वविजेता फ्रान्सले १० खेलाडीमा सीमित जिब्राल्टरविरुद्ध खेलभर एकतर्फी प्रदर्शन गरेको थियो । १८औँ मिनेटमा इथान सान्तोष रातो कार्ड पाउँदै बाहिरिएपछि जिब्राल्टार १० खेलाडीमा समेटिएको थियो ।

एम्बाप्पलेले ३०औँ मिनेटमा पेनाल्टी र ७४औँ र ८२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । यस्तै ओलिभर गिरोड र किङ्स्ले कोम्यानले दुई दुई गोल थप्नुभयो । मार्कुस थुराम, वेरेन जाइरे एम्री, जोनाथन क्लुस, युसोउफ फोफाना, एड्रिएन रिबोट र औसमाने डेम्बेलेले एक एक गोल गर्नुभयो । 

अर्को गोल फ्रान्सलाई जिब्राल्टरका इथान सान्तोसबाट आत्मघाती उपहार मिलेको थियो । यसअघि नै समूह ‘बी’ बाट छनोट यात्रा तय गरिसकेको फ्रान्स २१ अङ्कसहित शीर्षस्थानमा छ । नेदरल्यान्ड्स १५ अङ्कसहित युरो कपमा छनोट भइसकेको छ ।

शनिबार राति नै भएको खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई १–० गोलले हराएको थियो । समूहमा १२ अङ्क बनाएको ग्रीस तेस्रो र ६ अङ्कसहित आयरल्यान्ड चौथो स्थानमा छ । अङ्कविहीन जिब्राल्टर अन्तिममा छ । एजेन्सी