• ७ जेठ २०८१, सोमबार

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि

blog

गल्फ टुरबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर ३ गते । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा चार दिनसम्म चल्नेछ ।

एसोसिएसनले नयाँ सिजनमा आठ वटा प्रतियोगिता सञ्चालन गर्ने तालिका आइतबार सार्वजनिक गरेको छ। टुरअन्तर्गत गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र एयरपोर्टस्थित रोयल नेपाल गल्फ कोर्समा तीन तीनवटा प्रतियोगिता हुनेछन् । पोखरा र धरानमा एक एक प्रतियोगिता सञ्चालन गरिनेछ । 

सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनमा ३३ प्रो र शीर्ष वरीयताका एमेच्योरबिच प्रतिस्पर्धा हुने एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले सूर्य नेपाल टुरका कारण गल्फ खेलमा खेलाडीको आकर्षण बढेको बताउनुभयो । उहाँले १७औँ वर्षसम्म सहकार्य गरेकोमा सूर्य नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान थप प्रयत्न गरिने पनि बताउनुभयो ।  

चारदिने प्रतियोगिता ७२ खेलमा खेलाइनेछ । सुरुवाती दुई दिनको प्रतिस्पर्धाबाट कट गरेर २१ व्यावसायिक र ६ जना एमेच्योर खेलाडीबिच अन्तिम प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । कूल आठ लाख ४० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले एक लाख ४५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ९४ हजार र तेस्रो हुनेले ७० हजार रुपियाँ हात पार्नेछन् । प्रतियोगिता २१औँ स्थानसम्म रहने प्रोलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस प्रतियोगितामा नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई र शीर्ष वरीयताका एमेच्योर सुभाष तामाङ खेल्नुहुने छैन । त्यसैले प्रो भुवन नगरकोटी, नीरज तामाङ, धनबहादुर थापा, सञ्जय लामा र एमेच्योर गल्फर सद्भाव आचार्यलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ ।