• १४ मंसिर २०८१, शुक्रबार

ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास : सभामुख घिमिरे

blog

आइतवार झापा आउनेक्रममा भद्रपुर बिमानस्थलमा सभामुख घिमिरे । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ३ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास र साझा अभिभावक भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना गर्नेविरुद्ध खबरदारी गर्नुपर्ने जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो ।  

आइतबार गृह जिल्ला झापा आउनुभएका सभामुख घिमिरेले बिर्तामोड नगरपालिका कार्यालयमा १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई लौरो वितरण गर्नु हुँदै ज्येष्ठ नागरिकको सम्मानमा कमी आउन नदिन सबैमा आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकको अनुभवलाई हामी सबैले ग्रहण गरेर अघि बढ्न सक्छौँ, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले गलत गर्नेलाई लौरो ठड्याएर खबरदारी गर्न पनि आग्रह गर्नुभयो । हामीले बाटो बिराउन लाग्यौँ वा कसैले गल्ती गर्‍यो भने यहाँहरूले पनि कुरा उठाउनु होला र खबरदारी गर्नुहोला, उहाँले भन्नुभयो ।  बुढेसकालामा हिँड्न केही सजिलो होस भनेर लौरो वितरण गरिएको हो, उहाँले बताउनुभयो । 

सो अवसरमा ज्येष्ठ नागरिकलाई ढाका टोपी, मजेत्रोसहित लौरो प्रदान गरिएको छ । “यहाँहरूको सजिलो या अप्ठ्यारोमा जुनसुकै समयमा पनि म सधैँ यहाँहरूको साथमा छु”, सभामुख घिमिरे भन्नुभयो । 

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्कीलगायतको उपस्थिति रहेको थियो । सभामुख घिमिरे केही दिन आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।