• १४ मंसिर २०८१, शुक्रबार

नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते

blog

नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनबारे छलफल गर्दै मोरङ कांग्रेसका कार्यावहाक सभापतिलगायतका पदाधिकारी । तस्बिर :हरि कोइराला

हरि कोइराला
उर्लाबारी, मङ्सिर ३ गते ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते सुन्दरहरैँचा–९ स्थित जेसीज भवनमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार हुने यो पहिलो जिल्ला सम्मेलन हो ।

कांग्रेसले दुई वर्ष अघि १४ औं महाधिवेशनका क्रममा नयाँ संरचना अनुसार वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गरेको थियो । १४ औं महाधिवेशनपछि मोरङमा पहिलो जिल्ला सम्मेलन हुन लागेको मोरङका कार्यावाहक सभापति भक्तिनाथ माझीले बताउनुभयो । जिल्ला सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न मोरङ कांग्रेसको पदाधिकारीसहितको टोली मङ्सिर २ गतेदेखि जिल्लाका १७ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधिसँग भेटघाट गरिरहेको छ ।

जिल्ला सचिव मोदराज घिमिरेका अनुसार पदाधिकारीको टोलीले मङ्सिर १ गते कटहरी, जहदा, धनपालथान गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट गरेको छ । यस्तै, २ गते बुढीगङ्गा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुन्दरहरैँचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको छ ।

मङ्सिर ३ गते विराटनगर महानगरका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट कार्यक्रम सकिएको छ भने बाँकी रहेका उर्लाबारी, लेटाङ नगरपालिका र केरावारी, मिक्लाजुङ गाउँपालिकाका प्रतिनिधिसँग आइतबार साँझसम्ममा भेटघाट गरिसक्ने कार्यक्रम रहेको सचिव घिमिरेले बताउनुभयो ।

टोलीमा कार्यावहाक सभापति भक्तिनाथ माझी, सचिवद्वय मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ, सहसचिवद्वय सञ्जय मण्डल र भुवनेश्वर मण्डल एवम् कोषाध्यक्ष रन्जु अधिकारी हुनुहुन्छ । मोरङ सभापति डिगबहादुर लिम्बू हाल युवा तथा खेलकुदमन्त्री रहनुभएको छ भने विराटनगर महानगरका नगरप्रमुख रहनुभएका उपसभापति नागेश कोइराला चीन भ्रमणमा रहनुभएकाले भेटघाटमा सहभागी हुनुभएको छैन ।

जिल्ला सम्मेलनमा मोरङका १७ पालिकाका तीन हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनले सरकारको माओवादीसँगको गठबन्धन, कोसी प्रदेश सरकार गठन र आगामी महासमिति बैठकमा मोरङले राख्ने एजेण्डाका विषयमा साझा धारणा तय गर्ने अर्का जिल्ला सचिव ललितबहादुर श्रेष्ठले बताउनुभयो । सम्मेलनमा मोरङबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरू, कोशी प्रदेश समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यको उपस्थिति रहनेछ ।