• १२ साउन २०८१, शनिबार

प्युठानमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

blog

बिमल प्रसाद पोख्रेल

प्युठान, मङ्सिर ३ गते । प्युठानमा २८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । मङ्सिर ८, ९ र १० गते हुने यस सम्मेलनमा देशभरका ख्यातिप्राप्त सयौं बाल साहित्यकारको उपस्थित रहनेछ । 

आइतबार सम्मेलनको रुपरेखा र तयारीबारे पत्रकार सम्मेलन आयोजना गरी यसबोरे जानकारी गराइएको हो । कार्यक्रममा साहित्य परिषद् प्युठानकी कार्यवाहक अध्यक्ष विमला खनालले सम्मेलनबाट जिल्लाको साहित्यक क्षेत्रमा नयाँ जागरण आउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रचारप्रसारमा सहयोगका लागि जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग आग्रह गर्नुभएके छ । 

बालसाहित्य समाजको मुख्य आयोजना तथा अगुवाइमा गर्न थालिएको सो कार्यक्रममा ८ गते देशभरबाट साहित्यिक व्यक्तित्वहरुको भेटघाट जमघट तथा अनुभव साटासाट हुनेछ भने ९ गते बिहान ७ बजे सदरमुकाम खलङ्गामा रिडाथन गरिने र दिनको ११ बजे जनता मावि बाग्दुलामा उद्घाटन समारोहको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन सङ्घीय सांसद सूर्य थापाले गर्नुहुनेछ । बालप्रतिभाहरुको प्रतिभावान क्षमतालाई प्रस्फुटित गराई साहित्य क्षेत्रको विकास तथा मूलधारमा ल्याउने उद्देश्यका साथ साहित्य सम्मेलनलाई निरन्तरता दिँदै आएको यस बालसाहित्य समाजले गर्न थालेको २८ औं सम्मेलन हो ।

सम्मेलनमा एक सयभन्दा बढी ख्यातिप्राप्त बालसाहित्य सर्जकको उपस्थिति हुनेछ भने प्युठान जिल्लाका सबै पालिकाका गरी ४ सय विद्यार्थीलाई विभिन्न विधामा प्रशिक्षण दिनुका साथै उनीहरुको कथा, कविता, निबन्ध जस्ता सृजना प्रस्तुत गर्ने कार्यक्रम छ । यससँगै विभिन्न स्रष्टाद्वारा लिखित पुस्तक विमोचन, साहित्यिक विचार विमर्श, कार्यपत्र प्रस्तुति, कला प्रस्तुति, पुरस्कार वितरणलगायतका कार्यक्रम तय गरिएको छ । 

साहित्य सम्मेलन सम्पन्न गर्नका लागि जिल्लामा क्रियाशील साहित्यिक संस्था तथा अन्य निकाय खासगरी साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान, जनता मावि बाग्दुलाका साथै प्युठान नगरपालिका र मल्लरानी गाउँपालिका लगायतका सहित गरी १ दर्जनभन्दा बढी निकायले ऐक्यबद्धता जनाउँदै स्थानीय आयोजकको भूमिकामा छन् ।