हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर ३ गते । सिमकोट गाउँपालिका–७ का जगत शाही ३७ वर्षदेखि भेडी गोठालोका रूपमा काम गर्दै आउनुभएको छ । ५४ वर्षका शाहीले १७ वर्षको उमेरमा भेडी गोठालोको काम थाल्नुभएको थियो ।उच्च पाटनमा पालनका लागि राखिँदै आएका भेडी गोठ फेदीतर्फ झार्दै गर्दा भेटिएका शाहीले भन्नुभयो, “जीवनको अधिकांश समय भेडी धपाउँदै बित्यो ।”
उहाँका अनुसार चिसो बढ्नु र घाँस सुकेका कारण भेडी गोठलाई तल्लो भागमा सार्न थालिएको छ । चार महिना लगातार पाटनमा सारिएका भेडी गोठलाई मङ्सिर महिना लागेसँगै औलमा (न्यानो क्षेत्र) सारिन्छ । पाँच सय भेडाबाख्राको बथानसहित छ महिनाका लागि शाही तल्लो क्षेत्रमा लाग्नुभएको हो ।
दक्षिणी हुम्लाका साथै बाजुरा र बझाङ जिल्लासम्म उहाँले हिउँदभर भेडा चराउनुहुने छ । एउटा भोटेकुकुर र एक जना अर्को भेडी गोठालोसहित उहाँ दक्षिणतर्फ लाग्नुभएको हो । वर्षमा एघार महिना भेडाबाख्रासँग बिताउँदै आएका शाही गोठालो पेसामा रमाउनुभएको छ । वर्षमा १० वटा भेडाबाख्रा बिक्री गरेर आफ्नो घर व्यवहार चलाउँदै आएका शाहीले पछिल्लो समय चरनको समस्याले भेडापालनमा समस्या देखिएको बताउनुहुन्छ ।