• १३ मंसिर २०८१, बिहिबार

जोखिम बस्तीमा साइरन जडान

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर ३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–२, पहिरोको जोखिम रहेको बजेडी बस्तीमा पूर्वसूचना  दिन मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्ने गरेकाले स्थानीयलाई पहिरो आएको पूर्वजानकारी दिन मेसिन (साइरन) जडान गरिएको हो ।

पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डरडरैले आफूहरूले सधैँ बर्खाका रात काट्दै आएको स्थानीय दिनेशराज जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब पहिरो आएको नआएको कुरा पहिला थाहा हुने गरेर गाउँमा पूर्वसूचना दिने मेसिन (साइरन) जडान भएपछि डर हटेको छ ।”

बर्खाको समय पहिरोका कारण यहाँका घर पनि बिस्तारै तल सर्ने गर्दछन् । यसरी घर तल सरेपछि कुन रात आफू पनि पहिरोमा पुरिने हो भन्ने मनमा डर हुन्थ्यो । अहिले गाउँमा दुई वटा पहिरोसम्बन्धी पूर्वसूचना दिने मेसिन (साइनर) मेसिन जडान गरेपछि पहिरो आएको बेला भागेर ज्यान बचाउन सकिने जैसीले बताउनुभयो ।

२०२२ देखि २०८० सालसम्म बजेडीवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका करिब ९० घरपरिवार विस्थापित भइसकेका छन् । १३५ घरपरिवार अझै पहिरोको उच्च जोखिममा रहेका छन् । यहाँका स्थानीयले बस्ती सार्नका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारसँग माग राख्दै आएको भए पनि अहिलेसम्म कतैबाट यो कुराको सुनुवाइ नै भएको छैन् । पहिरोका कारण सात हजार रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । 

पहिरो नरोकिएकाले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था रहेको छ । स्थानीयलाई पहिरोबाट जोगाउनका लागि नगरपालिका र साहस नेपालको आर्थिक सहयोगमा पहिरोसम्बन्धी पूर्वसूचना दिने मेसिन (साइरन) जडान गरिएको बुढीगङ्गा नगरपालिका–२ का वडा सदस्य धर्मराज जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मेसिनले पहिरो गएका बेला एक किलोमिटर टाढासम्म आवाज दिन्छ । त्यो आवाजले पहिरो गएका बेला यहाँका स्थानीयलाई भाग्न सहज हुन्छ ।” मेसिनले पहिरो आएको बेलामा आवाज दिने गरेपछि यहाँका स्थानीय पहिरोबाट बच्न सक्ने सम्भावना धेरै रहेको वडा सदस्य जैसीले बताउनुभयो ।