• ११ मंसिर २०८१, मङ्गलबार

नयाँ गन्तव्य बन्दै माझुभन्ज्याङ

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ३ गते । देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । 

पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ । 

पालिकाभित्र पर्यटक भित्र्याउने र पालिकावासीलाई आयआर्जनसँग जोड्न नेपाल पर्यटन बोर्डको साझेदारीमा माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन खोजिएको पालिकाले जनाएको हो । 

सर्वसाधारणको जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) कार्यक्रम अन्तर्गत आँधीखोला गाउँपालिका र पर्यटन बोर्डको साझेदारीमा माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । 

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले नेपालकै पहिलो होमस्टे सिरुबारीको प्रवेशद्वारमा रहेको माझुभन्ज्याङको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । यसले सिरुबारीको आकर्षणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्राकृतिक हिसाबले निकै मनोरम यस क्षेत्रमा थाप्ले, माझुभन्ज्याङ, गोरुजुरे हुँदै डहरे देउरालीसम्म पैदल मार्ग र साइक्लिङ ट्रेलको निर्माण कार्य धमाधम अगाडि बढिरहेको अध्यक्ष पौडेलले बताउनुभयो । 

पालिका छिर्ने पर्यटकलाई एक/दुई दिन बसेर मनोरञ्जन लिने अवस्था बनाउने तयारीमा लागेका छौँ, उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकलाई यहीँको उत्पादन कोसेलीका रूपमा बिक्री गर्न कोसेली घर निर्माणाधीन अवस्थामा छ ।” 

वडा नम्बर १ का अध्यक्ष पवनकाजी अधिकारीले पर्यटकीय क्षेत्रको विकास र उचित प्रचारप्रसारसँगै यहाँको उत्पादन बजारसम्म पु¥याउन र आयआर्जनसँग गाउँपालिकावासीलाई जोड्न सकिने बताउनुभयो । 

माझुभन्ज्याङको पूर्वाधार विकास गर्न पर्यटन बोर्डले २७ लाख र पालिकाले ४५ लाख रकम लगानी गरेको छ । यहाँ उत्पादित वस्तुको बिक्रीवितरण आफ्नै डाँडापाखामा हुने भएपछि पालिकावासी निकै खुसी भएका छन् । 

सिरुबारी आउने पर्यटक मात्र होइन स्थानीयवासी पनि वनभोज खान, टिकटक बनाउन, हिमदृश्य अवलोकन गर्न माझुभन्ज्याङलाई रोज्ने गरेका छन् । यस्ता पर्यटकीय क्षेत्रले आगन्तुकलाई आनन्दित मात्र तुल्याएको छैन, स्थानीयको आयआर्जनमा सहयोग पुगेको छ ।