• १३ असोज २०८१, आइतबार

वराहक्षेत्रमा कात्तिके मेला सुरु

blog

वराहक्षेत्र मन्दिरमा कात्तिके मेलाको तयारीका लागि मन्दिर सजिसजाउ गरिएको छ । तस्बिर: बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, मङ्सिर ३ गते । सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो । 

पौराणिक कालदेखि नै वराहक्षेत्रमा हरिबोधिनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमा सम्म पाँच दिन मेला सञ्चलन हुँदै आएको र अहिले पनि प्रत्येक वर्ष मेला लाग्दै आएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताउनु भयो । 

मेलाको लागि आवश्यक पूर्वाधारहरू घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको मेलाको व्यवस्थापन गदै आएको वराहक्षेत्र  संरक्षण मञ्चले जनाएको छ । 

सचिव घिमिरेले भन्नु भयो “भारतको बिहारबाट हजारौ भक्तजनहरू कात्तिके मेलामा वर्षेनी आउने गर्नु भएको छ । बिहार बासीहरूले वराह भगवानलाई कुल देवता मान्ने भएको हुँदा विशेष गरी बिहारबाट ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्नु हुन्छ ।” 

वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा भगवान् विराजमान भएको स्थान वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी कात्तिके मेला मनाइने भएको हो । मेलामा वराह भगवानको दैनिक विशेष पूजा अर्चना हुनुका साथै विद्वान आचार्य हरूबाट वराह भगवानको कथा प्रवचन र भजन किर्तन हुने बताइएको छ । 

प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको कात्तिके मेलामा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । 

प्राचीन पूर्वीय संस्कृति तथा परम्पराअनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावर बदलेको रूप धारण गरी संसारभरका प्राणीहरूको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख रहेको छ । 

 पौराणिक कथाअनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनु भयो 

धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, वंगलादेशलगायत विश्वका विभिन्न देशबाट धार्मिक पर्यटकहरू आउने गरेका छन् । स्थानीयहरूले उत्पादन गरेको उपजहरू अम्रिसाे, कुचो, नाङ्लो, डालो र तेजपत्ताहरु मेलामा पाइने छन् ।