• ४ असार २०८१, मङ्गलबार

थाहा फिल्म फेस्टिभलको तयारी तीव्र

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर ३ गते । मकवानपुरको थाहा नगरमा आगामी ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ को तयारी तीव्र बनाइएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको प्रचारप्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो ।

फेस्टिभलमा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले फेस्टिभलका क्रममा दुई दर्जन चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क प्रदर्शनी गरिने बताउनुभयो । उहाँले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्ने उद्देश्यसहित एकहप्ते फिल्म फेस्टिभल आयोजना गरिएको स्पष्ट पार्नुभयो । फेस्टिभलका अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रहरू प्नि प्रदर्शनी गरिने आयोजकले जानकारी दिएका छन् । 

यस्तै सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकारलगायतको सहभागितामा थाहा नगरभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन हुने छ । साथै कलाकारहरूको सम्मान, निर्माता, निर्देशक तथा निर्माण समूहसँग अन्तर्क्रियालगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितिका संयोजक जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “थाहा नगरका प्रमुख पर्यटकीयस्थलको पहिचानसँगै चलचित्र, लघुचलचित्र, म्युजिक भिडियोलगायतका छायाङ्कनस्थलको विकास र प्रचार गर्न फिल्म फेस्टिभल आयोजना गरिएको हो ।’’