• ७ जेठ २०८१, सोमबार

विमान चार्टर गरी पोखरा आउँदै चिनियाँ धावकहरू

blog

प्रतियोगिता बारे जानकारी दिनुहुँदै आयोजक । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ३ गते । पाँच महिनापछि फेरि चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आउँदै छन् । यही मङ्सिर ९ गते हुने पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल र चीनका धावक एकसाथ दौडिन लागेका हुन् । 

यसअघि गएको असार ८ र ९ गते पोखरामा भएको चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आएका थिए । यसपालिको प्रतियोगितामा चीनका १० टिम र नेपाली १० टिम सहभागी हुने हुने टुङ्गो लागेको छ ।

एउटा टिममा तीन जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिनुभयो । प्रतियोगिता सफल बनाउन २२ उपसमिति गठन गरिएको छ । नेपाल र चीनको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने छ । बाराहीघाटबाट सुरु हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तूप पुगी फर्केर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाटमै आएपछि सकिने प्रतियोगिता संयोजक पालिखेले उल्लेख गर्नुभयो । 

चिनियाँ राजदूतावास काठमाडौँ, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । सँगसँगै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट पाँच किलोमिटर र विद्यार्थीका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि हुने छन् । 

क्रस कन्ट्रीमा प्रथम हुने टिमले तीन लाख ६० हजार, दोस्रोले दुई लाख ८८ हजार, तेस्रोले दुई लाख १६ हजार, चौथो टिमले एक लाख ४४ हजार र पाँचौँ हुने टिमले ९० हजार रुपैयाँ पाउनेछन् । व्यक्तिगत प्रतिस्पर्धातर्फ प्रथमले एक लाख ४४ हजार, दोस्रोले एक लाख आठ हजार र तेस्रोले ५४ हजार रुपैयाँ पाउने छन् । 

प्रतियोगितामा सहभागी हिमालयन एयरलाइन्सको चार्टर जहाजबाट खेलाडी, अफिसियल र पाहुना गरी एक सय चार चिनियाँ पोखरा आउँदै छन् । सन् २०१९ पछि पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता यसपालि हुन लागेको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्दै व्यवसायीमा उत्साह थप्ने बताउनुभयो ।