• १३ असोज २०८१, आइतबार

वार्षिक बाह्र अर्बको हस्तकलाका सामान निर्यात

blog

काठमाडौँ, मङ्सिर ३ गते  । मुलुकबाट वार्षिक १२ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।

नेपाल हस्तकला महासङ्घका अनुसार हस्तकलाका सामान विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छ । १२ अर्ब रुपियाँ बराबरको सामान भने आन्तरिक बजारमा खपत हुने गरेको महासङ्घको तथ्याङ्क छ । 

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले वार्षिक २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको विकास, विस्तार र प्रवर्धनमा सरकारले जोड दिनुपर्ने उहाँको भनाइ छ । 

हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रमशक्तिलाई बाहिरी मुलुकमा रोजगारीका लागि जान निरुत्साहित गर्न सक्ने उद्योग व्यवसायका रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने सम्भावना रहेको शाक्यको भनाइ छ । 

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड, विभिन्न वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकलाका सामान विदेश निर्यात हुन्छ ।

महासङ्घका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको छ प्रतिशत योगदान रहेकाले आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग छ । 

बिहीबारदेखि प्रदर्शनी 

आगामी बिहीबारदेखि २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता हुने भएको छ । महासङ्घको आयोजनामा हस्तकलाको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हस्तकला प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो । 

हस्तकलाबाट उत्पादित सामानको प्रचारप्रसार गर्ने प्रत्येक वर्ष प्रदर्शनी हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिने महासङ्घले जनाएको छ । 

यस्तै नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) भित्र समावेश हस्तकलाका वस्तुलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निःशुल्क स्टल प्रदान गरिएको छ । एकै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री हुने र मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुहरूको प्रदर्शनी हुने छ । 

यस्तै परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सिप प्रदर्शनी अमूर्त सांस्कृतिक सम्पदाको उजागर, ज्येष्ठ वरिष्ठ कलाकारलाई सम्मान, कला प्रदर्शनी एवं अग्रणी निर्यातकर्तालाई सम्मान पनि गरिने महासङ्घले जनाएको छ । मङ्सिर ७ देखि ११ सम्म  सञ्चालन हुने मेलामा १५० वटा स्टल रहने जनाइएको छ ।