• ६ माघ २०८१, आइतबार

युवतीको शव कब्रस्थानबाट निकालेर परीक्षण गरिँदै

blog

जनार्जन खत्री 

सर्लाही, मङ्सिर २ गते । सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ । 

युवतीको मृत्यु शङ्कास्पद रहेको भनी प्रहरीमा जानकारी आएपछि असोज २६ गते गाडिएको १७ वर्षीया तबसुन खातुनको शव उत्खनन गरेर निकाल्न लागिएको हो । स्थानीय शेख इर्सादकी छोरी तबसुनको मृत्युको कारण खुल्न सकेको छैन । 

तबसुनको मृत्युबारे यसअघि प्रहरीमा कुनै जानकारी आएको थिएन । युवतीको शव असोज २६ गते नै मुस्लिम समुदायको शव दाहसंस्कार गर्ने स्थल ‘कब्रस्थान’ मा लगेर गाडिएको थियो ।

घटनाबारे शुक्रबार बेलुका मात्र इलाका प्रहरी कार्यालय हरिवनमा खबर आयो । प्रहरीले शनिबार बिहानै मृतकको शव उत्खनन गरेर बाहिर निकाल्न खोज्यो तर स्थानीयबाट अवरोध भयो । 

त्यसपछि हरिवन ११ स्थित वडा कार्यालयमा बिहान भएको सर्वपक्षीय छलफलबाट घटनाको अनुसन्धान गर्न शव निकाल्न दिने सहमति भएको छ । युवतीको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको टोली आउने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

उहाँले युवतीको मृत्युबारे अनुसन्धान जारी नै रहेको बताउनुभएको छ । प्रहरीका अनुसार मृतक युवतीका बुवा सेख इर्साद र दाइ शेख चाँद फरार छन् । युवतीको शव गाडिएको स्थल र बालगङ्गा बस्तीमा अहिले हरिवनसहित जिल्लाका विभिन्न स्थानबाट थप मद्दतमा खटिएका प्रहरी टोली व्यापक मात्रामा परिचालन गरिएको छ । 

हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष महबुब रेजाले चिकित्सकसहितको टोलीले घटनास्थलमै शव परीक्षण गर्ने र पुनः त्यहीँ गाड्ने सहमति भएको बताउनुभयो ।