• १५ मंसिर २०८१, शनिबार

तिहारमा पनि बिकेन सयपत्री

blog

नवलपरासी समाचारदाता

कावासोती, मङ्सिर २ गते । विद्यालयको आन्तरिक आम्दानी बढाउन सयपत्री फूलको व्यवसाय सुरु गरेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयले यस वर्ष फूल बिक्री हुन नसक्दा आम्दानी नभएको बताएको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादनमा पूर्वी नवलपरासी पूर्ण रूपमा आत्मनिर्भर बने पनि यो तिहारमा बिक्री हुन नसक्दा विद्यालयको आम्दानी घट्ने भएको छ । 

यस वर्ष जताततै फूल फुलेका कारण धेरै बिक्री गर्न नसकिएको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले बताउनुभयो। माविले दुई लाखको सयपत्री फूल बिक्री गर्ने योजनाका साथ फूल रोपेको भए पनि ६० हजारको मात्र बिक्री भएको छ । 

जिल्लाका अधिकांश फूल व्यापारीले तिहारको समयमा सयपत्री प्रतिकिलो  तीन सयदेखि चार सयसम्ममा बिक्री भएको बताएका छन्। सयपत्री फूलको अहिले व्यावसायिक रूपमा नै उत्पादन गर्न थालेपछि जिल्ला फूलमा आत्मनिर्भर रहेको छ । 

यो वर्ष जताततै फूल उत्पादन भएकाले पर्याप्त मात्रामा फूल बिक्री नभएको गैँडाकोटका फूल व्यवसायी दिनेश अधिकारीले बताउनुभयो। पूर्वी नवलपरासीमा तिहारमा तीन लाख माला खपत हुनेमा जिल्लामा नै पाँच लाखभन्दा बढी सयपत्री फूलका माला उत्पादन भएको फूल व्यवसायी अधिकारीले बताउनुभयो। 

जिल्लाका देवचुली, मध्यबिन्दु कावासोती नगरपालिका, विनयीत्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएकाले पनि सयपत्री फूलको उत्पादन बढेको तर उत्पादन अनुसार बिक्री गर्न नसकिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।  

नवलपरासीपूर्वमा यो वर्ष सात करोड रुपियाँभन्दा बढीको सयपत्री फूल उत्पादन हुने अनुमान गरिएको थियो तर बिक्री भने चार करोडभन्दा बढीको मात्र भएको जिल्ला फूल व्यवसायी सङ्घका अध्यक्ष दिनेश शर्माले बताउनुभयो।