धनगढी समाचारदाता
धनगढी, मङ्सिर २ गते । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ ।
कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताउनुभयो ।
प्लान्ट क्वारेन्टाइन बन्द हुँदा आफ्नो मात्रै नभई प्रायः सबै उद्योग सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको सो कार्यालय गएको साउन २८ गतेबाट बन्द भएको छ । त्रिनगर भन्सारमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई सङ्घीय सरकारले एक्कासि बन्द गरेपछि उद्योगका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थदेखि फलफूल आयात निर्यातसमेत ठप्प रहेको छ ।
त्रिनगर भन्सार भएर धान, गहुँ, मकै, दलहन, फलफूल तथा पशुपन्छी र दुधजन्य वस्तु आयात निर्यात हुन सकेको छैन । यी वस्तुको आयात निर्यात ठप्पले खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् ।
आयात निर्यात ठप्प भएको अहिलेको अवस्थामा उद्योग सञ्चालन गर्न नसकिने नवीन प्यालेट दाना उद्योग प्रालिका सञ्चालक दिनेश लम्सालको भनाइ छ । उहाँले भन्नुभयो, “बैङ्कको चर्को ब्याजदर समस्या छँदै थियो, आयात निर्यात ठप्पले समस्या झनै थपिएको छ ।
यथाशीघ्र प्लान्ट क्वारेन्टाइन कार्यालय पुनः सञ्चालनमा नआए उद्योगको चाबी सरकारलाई बुझाउने उद्योगीको भनाइ छ । त्रिनगर भन्सार नाकाबाट आयात निर्यात ठप्प भएपछि नेपालगन्ज नाका भएर कच्चा पदार्थ आयात गर्न बाध्य छन् ।
नेपालगन्ज नाकाबाट सुदूरपश्चिम प्रदेशमा रहेका उद्योगका लागि कच्चा पदार्थ भिœयाउँदा ढुवानी लागत नै बढी हुने गरेको बताइएको छ । साउनमा प्लान्ट क्वारेन्टाइन बन्द भएपछि त्यहाँ कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना पनि अध्ययनका लागि विदेश जानु भएको छ ।
क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गर्दै आएको थियो । नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ता पनि सोही कार्यालयले जाँच गर्ने गरेको थियो ।
प्लान्ट क्वारेन्टाइन एक्कासि बन्दले आयात–निर्यात ठप्प भई उद्योग प्रभावित भएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले राजस्व असुलीमै गिरावट आएकाले कैलाली भन्सार नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाका लागि निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कात्तिक २० गते पत्र पठाउनुभएको थियो ।