• ४ जेठ २०८१, शुक्रबार

ग्रामीण बस्तीमा लाग्दैन फोन

blog

बैतडी समाचारदाता

बैतडी, मङ्सिर २ गते । सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् । 

सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् । खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो । 

त्यस्तै पारिबवेत गाउँमा फोनको नेटवर्कले काम नगर्दा समस्या भएको स्थानीय अगुवा सुरेन्द्र वडले गुनासो गर्नुभयो । सदरमुकाम आसपासकै गाउँमा फोन नलाग्ने समस्याका बारेमा गुनासो आए पनि केन्द्रबाट बजेट र कार्यक्रम नआएकाले नेटवर्क सुधार गर्न समस्या भइरहेको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताउनुभयो । 

२०३५ सालमा सदरमुकाममा सर्वसाधारणको पहुँचमा ल्यान्डलाइनको टेलिफोन सुविधा पुगेको थियो । २०६४ सालपछि स्काइ फोन र नमस्ते फोनले गाउँमा सञ्चारको पहुँच पुगे पनि बैतडीका १० स्थानीय तह र ८४ वडाका सबै गाउँमा अहिले पनि फोनको नेटवर्कले काम गर्दैन । पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली, बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोनको नेटवर्क खोज्दै डाँडातिर उक्लिनु पर्छ । फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनु पर्ने बाध्यता उक्त गाउँको मात्रै होइन, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांशको पनि उस्तै समस्या  छ । 

पाटन नगरपालिका–१ मा सञ्चार सुविधा पु¥याउन नेपाल टेलिकमले दुई वर्षअघि निर्माण सुरु गरेको टावर अझै पूरा नभएको स्थानीय गणेश भट्टराईले बताउनुभयो । बेलचौरामा टावरका पोल गाडिएका छन्, सोलार पाता र उपकरण पनि जडान भएको छ तर टावर सञ्चालन नहुँदा समस्या भएको उहाँले बताउनुभयो । सिगास गाउँपालिका–१, बेसरा टोलमा बादल लागेको दिन टेलिकमको नेटकर्वले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय जगदीश भट्टले बताउनुभयो । सबै गाउँलाई पायक पर्ने ठाउँमा टावर नभएका कारण फोन सेवाबाट वञ्चित हुनु परेको हो । 

शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिम प्रयोग हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । फोरजीले काम नगरेकाले सदरमुकाम क्षेत्रका गाउँमा १० देखि १५ जना ग्राहकले वाइफाइ सुविधाका लागि अग्रिम ग्राहक बन्न चाहेमा एन्टी फाइबर बिस्तार गर्न सकिने टेलिकम प्रमुख सजित प्याकुरेलले बताउनुभयो ।