दोलखा समाचारदाता
दोलखा, मङ्सिर २ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट गाउँ बेदिङवासीले यो वर्षको तिहार अँध्यारोमा मनाएका छन् । बेदिङमा तिहारअघिदेखि नै विद्युत् लाइनमा आएको समस्या समाधान नभएपछि अँध्यारोमा तिहार मनाउन बाध्य भएको स्थानीय मिङ्मा शेर्पाले दुःखेसो पोख्नुभयो ।
गाउँ नजिकै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना भए पनि विद्य्त् लाइन मर्मत नहुँदा विद्युत् आपूर्तिमा समस्या आएको हो । स्थानीय तथा हिमाल आरोही दावाछिरी शेर्पाले भन्नुभयो, “तिहारअघिदेखि नै हाफ लाइन आएको थियो । हाफ लाइन विद्युत् आएपछि पटक पटक सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ भएन । अब कहिले बन्छ पनि थाहा छैन ।”
च्छोरोल्पा ट्रेकिङ क्षेत्रमा पर्ने बेदिङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको चाप छ । पर्यटक आउने सिजनमा समेत बत्ती नहुँदा थप समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दोलखाका प्रमुख नेत्रमणि न्यौपानेले यस विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको बताउनुभयो । समुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा रहेको हिमाल आरोहीको गाउँ भनेर चिनिने बेदिङमा ८२ घरधुरी छन् ।