• १४ मंसिर २०८१, शुक्रबार

पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अपूरो काम सुरु

blog

दमक समाचारदाता

दमक, मङ्सिर २ गते । वैकल्पिक सहायक राजमार्गका रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अलपत्र परेको काम सुरु भएको छ । सडक भत्काएर बेवारिसे रूपमा छाडिएको भन्दै स्थानीयले ठाउँ ठाउँमा सडक अवरोध गरेर विरोध जनाएका थिए ।

पाडाजुङ्गीदेखि गेउरिया नजिकसम्म साढे तीन किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अगाडि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिएको थियो । नेपाल–भारत सीमा गौरीगन्जसँग जोड्ने गरी दुई वर्षअघिदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको पाडाजुङ्गीबाट सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको थियो । 

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौड्यालका अनुसार सडक निर्माणका लागि बजेट नभएको र बजेट सुनिश्चित नभएकाले रोकिएको काम बजेट सुनिश्चित भएसँगै शुक्रबारबाट सुरु भएको छ । खरीढुङ्गा/माङ्वा/पूर्वाञ्चल जेभीले सडक स्तरोन्नतिको काम सुरु गरेको हो । मङ्सिरभित्र काम सक्ने बताइएको छ ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख पौड्यालका अनुसार ११ करोड रुपियाँको लागतमा सडक स्तरोन्नतिसहित चौडा बनाउने काम सुरु भएको थियो । ४५ प्रतिशत काम पूरा हुँदा ४० प्रतिशतको भुक्तानी निर्माण व्यवसायीले पाएका थिए । सडक बोर्डबाट पाँच करोड रुपियाँ उपलब्ध हुने भएको पौड्यालले बताउनुभयो ।

निर्माणाधीन सडकले सङ्घीय सरकारले प्रदेश सरकारलाई दिएको बताइए पनि फेरि सङ्घीय सरकारतर्फ नै फिर्ता भएकोसमेत बताइएको छ । यो सडकको विषयमा सङ्घीय सरकार तथा सम्बन्धित विभागमा यस क्षेत्रबाट २० भन्दा बढी विभिन्न समूह दबाबका लागि पुगेका थिए ।