• ७ जेठ २०८१, सोमबार

राष्ट्रपतिद्वारा घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

blog

राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत कुरा गर्दै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, कात्तिक २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट घाइते भएकाको प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । 

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री बस्नेतसँग उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पबाट घाइतेहरुको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा  जानकारी लिएपछि सो आग्रह गर्नुभएको हो । 

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल, प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह पनि गर्नुभयो । 

उहाँले अस्पतालको स्तरवृद्धि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको थियो । जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि  बेलैमा आवश्यक तयारी गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो ।