काठमाडौं, कात्तिक २२ गते । नेपाल च्याम्पियन फिडेमास्टर (एफएम) रुपेश जैसवाल र श्रीलङ्काकी महिला इन्टरनेसनल मास्टर्स (डब्लुआइएम) सचिनि रनासिंघेले दोस्रो नेपालभाषा मंकाःखलःराष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
आठ चरणको खेलमा रुपेशले सातमा जित र एक बराबरीमा खेलेर सर्वाधिक ७.५ अङ्क बनाउनुभयो । ६.५ अङ्कसहित आशिष फुँयाल दोस्रो स्थानमा रहन सफल हुनुभयो । समान अङ्क बनाए पनि क्षितिज भण्डारी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुभयो । नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवाल, कृष्णमान महर्जन, जनार्दन श्रेष्ठ, सुदिप तामाङ, राजन पुरी, एफएम सजिन महर्जन र पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार क्रमशः चौथो देखि दशौं स्थान ओगट्न सफल हुनुभयो ।
महिलातर्फ श्रीलंकन डब्लुआइएम सचिनि रनासिंघे सर्वाधिक पाँच अङ्कसहित च्याम्पियन बन्नुभयो । पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी र नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी दोस्रो र तेस्रो स्थानमा रहनुभयो । ललितपुर जिल्लाका स्थानीय पुरस्कार सुरोज महर्जन र रत्न ब्यञ्जनकारको नाममा रह्यो भने अनरेटेड तर्फ विजेश राजकर्णीकार पहिलो हुनुभयो ।