काठमाडौं, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितका लागि ३२ लाख रुपियाँ बराबरको राहत सङ्कलन गरेको छ।
काठमाडौँको कपुरधारास्थित नेकपा उपत्यका ब्युरो कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ब्युरो अन्तर्गतका जिल्लाहरूबाट नगद एक लाख ३३ हजार सहित ३२ लाख बराबरको राहत सङ्कलन गरिएको जानकारी दिएको हो।
नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीले समग्र उपत्यका ब्युरोबाट ३२ लाख बराबरको राहत सङ्कलन गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भूकम्पको क्षति पश्चात् पार्टीको उपलब्ध स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरूको आपत्कालीन संयुक्त बैठकको निर्णय अनुसार देशैभरका जिल्ला ब्युरो पार्टीहरूलाई पीडितको राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन थियो। त्यही अनुसार हाम्रो ब्युरो पनि लागि परेको हो । उपत्यकाका जनता, व्यापारीहरूले देखाएको सदाशयता पार्टी कमिटीको अथाह मिहेनतले आज पीडितहरूको घाउमा थोरै भए पनि मलाम लगाउन सफल भएका छौँ।”
उहाँले राज्यले भनेको एकद्वार प्रणालीले राहत सामाग्री वास्तविक पीडितसम्म नपुग्ने र पुगे पनि आफ्ना मान्छे मात्र पोस्ने काम भएको गुनासो सुनिएको बताउनुभयो । “एकद्वार प्रणालीले आफ्ना कर्मचारी तन्त्र र आफ़न्तहरुलाई पोस्ने मात्र काम हुन्छ भ्रष्टाचार, अनियमितताको खतरा बढी हुन्छ यो गलत छ”, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो ब्युरोले सङ्कलन गरेको सम्पूर्ण जिन्सी पार्टी महासचिव समक्ष आजै हस्तान्तरण गर्ने र बाँकी नगद दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने समेत जानकारी दिनुभयो ।
ब्युरो अन्तर्गतका जिल्लाहरूमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यहरूको कमाण्डमा सुरु गरिएको राहत सङ्कलन अभियानमा ज्ञानु सी, राजकुमारी सी, बन्धु सी, भृकुटी सी, बिहानी सी, सुरेन्द्र सी, सुदर्शन सी, डीआर लगायतका नेताहरूले नेतृत्वमा सो कार्य भएको उहाँको भनाइ छ ।