लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २२ गते । विश्व स्वास्थ्यका लागि आयुर्वेद भन्ने मूल नाराका साथ विभिन्न राष्ट्रका आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको बृहत् भेला आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।
ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आयुर्वेद विज्ञान अनुसन्धान संस्थानको संयुक्त आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधबारदेखि सुरु हुने तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका विभिन्न राष्ट्रका चिकित्सा विज्ञानका अनुसन्धानकर्ता, चिकित्सक तथा विज्ञहरूको बृहत् भेला हुन लागेको हो ।
जसमा भारत, बङ्गलादेश, मोरिसस, भुटान, ऐया, जापानलगायत विभिन्न राष्ट्रका आयुर्वेदका अनुसन्धानकर्ता, विज्ञ तथा चिकित्सकहरू रहेका छन् ।
कात्तिक २२ देखि २४ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य आयुर्वेद पद्धतिलाई विश्वव्यापी रूपमा फैलाउनुका साथै आयुर्वेद शिक्षामा पढाइने नीतिलाई उजागर गर्ने उद्देश्यका साथ विश्वका विभिन्न राष्ट्रका आयुर्वेद चिकित्सा क्षेत्रका विज्ञ, तथा अनुसन्धानकर्ताहरूलाई सम्मेलनमा सहभागी गराउन खोजिएको आयोजकले जनाएको छ ।
तीन दिवसीय आयुर्वेद सम्मेलनको पहिलो दिन उद्घाटन, वैज्ञानिक सत्र र आयुर्वेद कार्यशाला आयोजना गरिएको छ भने दोस्रो दिन अन्तर्राष्ट्रिय युवा सम्मेलन, आयुर्वेदमा आर्थिक विकास तथा दिगो स्वास्थ्य बारे छलफल कार्यक्रमको आयोजना गरिएको आयोजनकले जनाएको छ । यस्तै अन्तिम दिन कात्तिक २४ गते वैज्ञानिक सत्रसँगै आयुर्वेदका चिकित्सकहरूलाई सम्मान गरी सम्मेलन समापन गर्ने कार्यक्रममा रहेको आयोजकले जनाएको छ ।
आयुर्वेद चिकित्सा विज्ञानमा आयुर्वेदको ठुलो महत्त्व रहेको तर, समयसँगै मानवताजीले आयुर्वेदको गुणलाई बिर्सिँदै गएका कारण विभिन्न राष्ट्रका आयुर्वेदका अनुसन्धानकर्ता, चिकित्सक तथा विज्ञहरूलाई सहभागी गराई सम्मेलन हुन लागेको आयोजक समितिका अध्यक्ष डा. राकेशकुमार सिंहले बताउनुभयो । सम्मेलनमा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटीसहितका विषयमा छलफल र आयुर्वेदको सम्भाव्यताका विषयमा बृहत् छलफल तथा परामर्शका लागि समेत गरिने सम्मेलनको आयोजना गरिएको समितिका अध्यक्ष डा. राकेशकुमार सिंहले जानकारी दिनुभयो ।
साथै मिथिला संस्कृति प्रवर्द्धनका लागि सम्मेलन अवधिभर प्रत्येक दिन साँझ मिथिला सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने जानकारी सिंहले दिनुभयो ।