• ११ मंसिर २०८१, मङ्गलबार

अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार

blog

पोखरा, कात्तिक २२ गते । पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहनुभएका कलाकार प्रकाश घिमिरेलाई आइसियुबाट न्युरो वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उहाँलाई वार्डमा सारिएको हो । वार्डमा सारिएका उहाँले भेट्न पुग्नेसँग खुलेर दोहोरो कुराकानी गर्न थाल्नुभएको छ ।

अस्पतालमा भेट्न पुगेकासँग उहाँले चलचित्र र नाटकबारे चिन्ता गर्ने गरेको जनाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार आएको बताउनुभएको छ । नगरपालिका प्रमुखसँगको कुराकानीमा पनि उहाँले पोखरामा स्तरीय नाटकघर बनाउनुपर्ने चिन्ता जाहेर गरेको जनाइएको छ ।

उहाँ कात्तिक १० गते शुक्रबार पोखरा नदीपुरको भिरमा घाँस काट्ने क्रममा लडेर घाइते भई अचेत हुनुभएको थियो । त्यसपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा निरन्तर उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक रूपमा राम्रो सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।