• ७ जेठ २०८१, सोमबार

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

blog

बुद्ध जन्मस्थल रुपन्देहीमा रहेको लुम्बिनी विकास कोष । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक २१ गते । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । 

कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

सदस्यसचिव शाक्यका अनुसार कोषको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नुहुनेछ ।

कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।