• ४ जेठ २०८१, शुक्रबार

सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो

blog

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट चार लाख रूपियाँ कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेललाई हस्तान्तरण गरिँदै । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी(कैलाली) कात्तिक २१ गते ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्र नपुगी फर्केका छन् । विशेषज्ञ चिकित्सकसहितको टाेलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेका थिए ।

कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले सुर्खेत पुगेको टोलीलाई तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले बताउनुभयो ।

टोलीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पठाइएको करिब चार लाख मूल्य बराबरको औषधि कर्णालीका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेललाई हस्तान्तरण गरेको जनाएको छ ।