• ६ माघ २०८१, आइतबार

फार्मेसी औषधी रित्तियो, बिरामीले रित्तो फर्कन बाध्य

blog

औषधि अभावमा रित्तिएको ‘फार्मेसी’ । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक २१ गते । सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् ।

औषधि आपूर्ति गर्ने संस्थासँग स्थानीय जनप्रतिनिधिले बेलैमा सम्झौता नवीकरण नगर्दा औषधिको अभाव भएको हो । स्वास्थ्य बिमा गरेका यस क्षेत्रका बिरामी बाहिरका औषधि पसलबाट औषधि खरिद गरेर खान बाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार पर्ल मेडिटेक भरतपुर, चितवनसँग औषधि आपूर्तिका लागि तीन वर्षे सम्झौता भएको छ । 

प्रत्येक आर्थिक वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारीले सम्झौता गर्न केही समय ढिलो हुँदा औषधि अभाव हुन पुगेको स्वीकार गर्नुभएको छ ।

अहिले भने आफूहरूको तर्फबाट सम्झौता नवीकरण गर्न तयार भएर बसेको अधिकारीले बताउनुभयो । “हामी सम्झौताका लागि तयार भएर बसेका छौँ, औषधि आपूर्तिकर्ताबाट आज÷भोलीमै आउँछु भन्ने जानकारी आएको छ,” वडाध्यक्ष अधिकारीले भन्नुभयो, “बिचमा हामीबिच पनि केही अन्यौलता रह्यो, सरसल्लाह गर्दागर्दै ढिलो हुन पुगेकै हो ।” 

अधिकारीले राष्ट्रिय बिमा बोर्डबाट औषधि आपूर्तिकर्तालाई बेलैमा बिमाको रकम भुक्तानी नहुँदा समेत यस्तो समस्या आएको दाबी गर्नुभयो । बिमा बोर्डले भर्खरै तीन लाख रुपियाँ पठाएको र सम्झौता नवीकरण गर्न आउँदा सो रकम औषधि आपूर्तिकर्तालाई दिएर पठाइने वडाध्यक्ष अधिकारीको भनाई छ । 

प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक सुदीप काफ्लेले तिहारपछि औषधि आउने वातावरण बनेको बताउनुभयो । काफ्लेका अनुसार सर्लाही जिल्लाभर लाल बन्दीबाट मात्रै स्वास्थ्य बिमा गरेकालाई निःशुल्क औषधि वितरण हुने गरेको छ । 

यहाँबाट औषधि लिन सिन्धुलीको क्यान खोला क्षेत्रसहित लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, कौडेनालगायत पालिकाका स्थानीय आउने गर्छन् । तर अहिले भने फार्मेसी नै रित्तिँदा स्वास्थ्य बिमा गरेका बिरामी मारमा परेका छन् । 

लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले औषधि अभाव हुनुमा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको कमजोर पाइएको बताउनुभयो । “नयाँ आर्थिक वर्ष लाग्दै हुनुपर्ने सम्झौता नवीकरण अहिलेसम्म नहुनुमा व्यवस्थापन समितिकै कमजोरी हो,” सोमबार मात्रै अस्पतालको अनुगमनमा पुग्नुभएका नगरप्रमुख अधिकारीले भन्नुभयो, “अब भने सम्झौता हुन लागेको जानकारी पाएको छु, तत्काल औषधि आपूर्ति हुन्छ होला !” । 

राष्ट्रिय बिमा बोर्डले सूचीकृत गरे अनुसार स्वास्थ्य बिमा गरेका व्यक्तिले ११ सय थरीका औषधि निःशुल्क पाउनुपर्ने हो । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उपलब्ध जनशक्तिको दक्षताका आधारमा औषधि वितरण गर्दै आइरहेको बताउनुभयो ।