• २५ पुस २०८१, बिहिबार

सोह्रौँ योजनाका लागि प्रदेशगत छलफल सुरु

blog

काठमाडौँ, कात्तिक २१ गते  । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेशगत रूपमा छलफल सुरु गरेको छ । योजना आयोगले कर्णाली प्रदेशबाहेक अरू छ प्रदेशमा योजना अनुरूप छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि टोली खटाएको जनाएको छ ।

आयोगले सोमबार बागमती र मधेश प्रदेशसहितका ठाउँमा छलफल सुरू गरेको जानकारी गरायो । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागिता रहेको थियो ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६ औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । 

कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई स्थगित गरिएको बताउँदै उहाँले बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको जानकारी दिनुभयो । 

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते सोमबार र मङ्गलबार २१ गते बागमती प्रदेशको हेटौँडा, मधेश प्रदेशको जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम भएको पनि जानकारी दिनुभयो । 

उहाँका अनुसार यसका लागि आयोगका सदस्य डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुङ्गानाको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसमेत सुझाव सङ्कलन गरेर १६ औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।