• २३ वैशाख २०८२, मङ्गलबार

प्रभावित क्षेत्रमा पठाइयो कन्टेनर

blog

काठमाडौँ, कात्तिक २१ गते । सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतका लागि डिआरएस कन्टेनर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि तीन र ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुमपश्चिमका लागि पठाइएको हो ।

ती कन्टेनरमा उपलब्ध स्रोतसाधनबाट सम्बन्धित क्षेत्रमा अस्थायी बसोबासका लागि संरचना निर्माण भइसकेको सहायक प्रवक्ता थापाले जानकारी दिनुभयो । एउटा डिआरएस कन्टेनरमा एक सय जनाका लागि खाद्यान्नबाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । 

जाजरकोटको भेरी नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय र सोही नगरपालिका–१, रावत गाउँमा अस्थायी संरचना निर्माण भइसकेका छन् भने रुकुमपश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भइसकेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासबाट सहयोगस्वरूप प्राप्त भएको ३३ वटा डिआरएस कन्टेनरमध्ये तीन वटा जाजरकोट र दुई वटा रुकुमपश्चिममा पठाइएको छ । बाँकी २८ वटा कन्टेनर सात वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको वाहिनी मुख्यालय र मातहतका युनिटमा विपत्को समयमा प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरिएको छ । 

यसै गरी गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बलको सिनामङ्गलमा रहेको विपत् उद्धार उपत्यका गण र गुह्येश्वरी गण भक्तपुरमा भण्डारण गरिएका १० हजार सात सय थान टेन्टसहितको तीन वटा कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भएकाहरूको उपचारका लागि चिकित्सक टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता थापाले सशस्त्र प्रहरीका डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मीको दुई टोली परिचालन गरिएको जानकारी दिनुभयो ।