• १२ साउन २०८१, शनिबार

पुतलीबाजे सेती किनारमा विलीन

blog

पुतलीबाजेको शवमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य । तस्बिर सौजन्य : भीम थापा

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २१ गते । पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । 

विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।

लन्डनमा जन्मिएका कलिन फिलिम स्मिथ ३० वर्षको लक्का जवान उमेरमा नेपाल आउनुभएको थियो । क्रिस्चियन मिसन अन्तर्गत शिक्षक बनेर दक्षिण एसियाको हिमाली देश आउँदा उहाँको सपना सायद शिक्षक बन्नेमै सीमित थियो । नेपालमा ५० वर्षको बसाइमा उहाँको सपनासँगै फेरिएको कर्म र पहिचानका कारण उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो । 

पोखरालाई कर्मथलो बनाएका पुतलीबाजेको निधनमा पोखरावासीले सोमबार उहाँलाई भावपूर्ण बिदाइ गरे । सानैदेखि पुतलीप्रति आकर्षित हुँदै आउनुभएका उहाँ पछि ‘पुतलीबाजे’ नामले नै परिचित हुनुहुन्थ्यो । जीवनकालमै उहाँले क्रिस्चियन परम्परा अनुसार सेती नदीमा अन्तिम संस्कार होस् भनी लेख्नुभएको थियो । उहाँसँग साढे तीन दशक लामो सङ्गत गर्नुभएका फोटोग्राफर सुनील उलक भन्नुहुन्छ, “उहाँले अन्तिम संस्कार यसरी होस् भन्ने लेखेर जानुभएको रहेछ, त्यही अनुसार सेतीमा अन्तिम बिदाइ ग¥यौँ ।”

८७ वर्षीय पुतलीबाजे लामो समयदेखि हरियोखर्क अस्पताल पोखरामा उपचाररत हुनुहुन्थ्यो । पुतलीको अन्वेषण र शिक्षणमै जीवन समर्पण गर्नुभएका उहाँका धर्मछोरा मीन परियार हुनुहुन्छ । परियारले बुवाको इच्छाबमोजिम अन्तिम संस्कार गरिएको र अभिभावक गुमाउँदा आफू स्तब्ध भएको बताउनुभयो । 

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जर्ज जोनले पाँच दशक नेपालमा सेवा गर्ने पुतलीबाजे खाँटी नेपाली भएको धारणा राख्नुभयो । पृथ्वीनारायण क्याम्पसमा केही समय शिक्षणसमेत गर्नुभएका स्मिथले खोजेका पुतलीको सङ्कलनसमेत यहीँ छ । प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय नाम दिइएको यो सङ्ग्रहालय पुतली सङ्ग्रहालयकै नामले परिचित छ । 

पोखरा महानगरप्रमुख धनराज आचार्यले पोखरामा उहाँको अद्वितीय योगदान रहेको सम्झना गर्नुभयो । “बिहे, सुखसयल नभनी मातृभूमि नै छाडेर पुतली र नेपालका लागि उहाँले गरेको योगदान कहिल्यै बिर्सन सकिँदैन,” प्रमुख आचार्यले भन्नुभयो । 

प्रमुख आचार्यकै अगुवाइमा पुतलीबाजेलाई सन् २०१७ मा रथारोहण गराइएको थियो । त्यसबेला प्रदान गरिएको राष्ट्रिय झन्डा आकृतिको सल र झोला पुतलीबाजेले हिँड्न सकुन्जेल बोक्न छाड्नुभएन । पुतलीबाजे सधैँ ढाकाटोपी लगाएर हिँड्नुहुन्थ्यो । 

विसं १९९३ मङ्सिर ९ गते लन्डननजिकैको गाउँमा जन्मनुभएका स्मिथ एमएस्सी उत्तीर्ण गरेपछि २०२२ माघमा पोखरा आउनुभएको थियो । नेपाल आएपछि उहाँले विभिन्न ठाउँमा अध्यापनसँगै पुतलीको अन्वेषण गर्नुभएको थियो । उहाँले जीवनको अन्तिम समयमा पनि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका लागि काम गर्नुभएको थियो । अथक् अन्वेषक उहाँका पुतलीकै बारेमा एक दर्जन पुस्तक प्रकाशित छन् ।